विमानस्थलमा खटिएका प्रहरीलाई डिआइजीको निर्देशन: बोली, वचन र व्यवहारमा कहीँ नचुक्नु

रिपोर्ट नेपाल | 2020 Jan 19 | 07:05 pm 938

काठमाडाैं, माघ ५ : महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतामा विशेष ख्याल गर्न निर्देशन दिएका छन्।

आइतबार विमानस्थल सुरक्षा कार्यालयको निरीक्षणमा गएका पोखरेलले जनताको मानवअधिकारको संरक्षण गर्दै सुरक्षा र चेकजाँचमा ध्यान दिन निर्देशन दिएका हुन्।

उनले व्यवहार, बोली, बचनमा कहीँ कतै नचुक्न र नझुक्न निर्देशन दिए। पोखरेलले भने, ‘तपाईंहरूको बोली, बचन र व्यवहार राज्य संयन्त्रको सक्रियताको प्रतिबिम्ब हो। यसलाई ख्याल राख्नू।’

निरीक्षणमा रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली र किरण बज्राचार्ज पनि थिए। गत बुधबार गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

तर पछि महिला प्रहरीले नै राउतले अभद्र व्यवहार गरेको भन्दै उजुरी दिइन्। अहिले राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। उक्त प्रकरणबारे सामाजिक सञ्जालमा चर्को बहस भइरहेका बेला डिआइजी पोखरेलले विमानस्थलको निरीक्षण गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.