विदेशबाट आयात गरिएको बीउको प्रयोग

रिपोर्ट नेपाल | 2018 Aug 16 | 04:13 pm 1047

ललितपुर, साउन ३१: विदेशबाट आयात गरिएको वर्णशङ्कर जातको धानको बीउतर्फ किसान आकर्षित हुँदै गएका छन् । वर्णशङ्कर बीउको प्रयोग बढिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली विज्ञान महाशाखाका प्राविधिक अतीत पराजुलीले बताएका छन् ।

नेपालमा वर्णशङ्कर बीउको मूल्य प्रतिकिलो ५०० देखि ६०० सम्म पर्ने गरेको छ । पराजुलिले भने, “बीउ महँगो भएपनि बढी उत्पादन पाउने आशमा किसानले वर्णशङ्कर बीउतर्फ आकर्षित हुने गरेका छन् ।” एक पटक किनेको उन्नत बीउ केही वर्षसम्म रोप्न मिल्ने भए पनि वर्णशङ्कर बीउ बर्षेनी किनेर रोप्नुपर्छ ।

वर्णशङ्कर बीउ मुलुकमा विभिन्न किसिमका बालीमा प्रयोग बढ्दै गएको छ । धानबालीमा यसको प्रयोग सबैभन्दा बढी भएको प्राविधिक पराजुलीले बताए । जनकपुरस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले तराईका लागि वर्णशङ्कर धानको बीउ सिफारिश गरेको छ । “पहाडका लागि उन्नत बीउ सिफरिश गर्दै आएको नार्कले वर्णशङ्कर बीउ अहिलेसम्म सिफारिश गरेको छैन,” पराजुलीले भने ।

छिमेकी मुलुकबाट आयात गरिएका वर्णशङ्कर बीउमध्ये कतिपय यहाँको हावापानी सुहाउँदो नहुने प्राविधिक पराजुली बताए । पराजुलिले भने “धेरै उत्पादन लिनका लागि लगाउने गरिएको वर्णशङ्कर कतिपय वर्ष न्यून उत्पादन भएको छ ।” मुलुकमा धान बालीमा वर्णशङ्कर र उन्नत बीउको प्रयोग बढ्दै जाँदा स्थानीय बीउ भने हराउँदै गएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.