रिडीमा बाढी : रुरु महोत्सव प्रभावित

रिपोर्ट नेपाल | 2020 Jan 17 | 12:54 pm 982

गुल्मी, माघ ०३ : गत बुधबार रातिदेखि परेको वर्षाका कारण गुल्मीको रुरु महोत्सव प्रभावित बनेको छ । वर्षाका कारण रिडी खोलामा बाढी आएसँगै रिडीको रुरु महोत्सवमा बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा समेत बाढी पसेको छ ।

होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन् । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिए ।

रिडी खोलामा बाढी आएसँगै मेलामा वारपार गर्नका लागि खोला तर्न बनाइएको काठको अस्थायी पुलसमेत बगाइदिएको छ । रिडीको माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखा र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा रुरु क्षेत्र गाउँपालिकाअन्तर्गत रिडीमा दोस्रो रुरु महोत्सवको आयोजना गरिएको हो ।

माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव वर्षाका कारण बिहीबार दिनभर सुनसान बनेको थियो भने शुक्रबार पनि महोत्सव सुनसान बनेको छ । मेलामा व्यापारका लागि आएका कतिपय व्यवसायी वर्षाका कारण आफ्ना सामान लिएर त्यत्तिकै घर फर्कन बाध्य बनेका छन् ।

पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । तर, यस पटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बनेको हो ।

दुई दिनदेखिको वर्षाका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ । लगातारको झरी र चिसोका कारण मानिस अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् ।

वर्षाका कारण सडक चिफ्लो भएपछि जिल्लाका चार दर्जनभन्दा बढी ग्रामीण सडकमा सवारी साधनसमेत सञ्चालन हुनसकेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.