मेलम्चीका जन्मदाता किसुनजीको प्रधानमन्त्री ओलीलेगरे अपमान

| 2021 Mar 07 | 10:28 am 11545

वसन्त भुजेल
२०७७ को फागुन २२ गते शनिवार राजधानी काठामाडौ उपत्यकामा मेलम्ची नदीको पानी खसेको छ । तत्कालका लागि उक्त पानी बाग्मती नदीमै प्रवाह गरिएको छ । २७ किलोमिटर लामो सुरुङ सफा भए पछि अबको दुई साता भित्र राजधानीबासीको घर घरमा मेलम्चीको पानी पुग्दैछ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनु हाम्रो मुलुकका लागि ठूलो उपलव्धी हो । सायद २०४६ सालमा वहुदलीय व्यवस्था पुनवर्हाली यता नेपालमा स्मरण गर्न लायक कुनै काम भएको छ भने त्यो मेलम्ची खानेपानी आयोजना नै हो ।

निकै टाढाको दुरीबाट २७ किलोमिटर लामो सुरुङ निर्माण गरी खानेपानी ल्याउनु भनेको नेपाल जस्तो गरिव र प्रविधि नभएको मुलुकका लागि सामान्य कुरा होइन । मेलम्ची खानेपानी आयोजनाका उज्याला पाटाहरु जति छन् अँधेरा पाटा त्यो भन्दा कम छैनन् । पहिलो कुरा त सात वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०५६ सालमा निर्माण थालिएको मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न हुन २२ वर्ष अर्थात २०७८ साल पुग्यो । मेलम्ची खानेपानी आयोजनाको सपना पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन् । राजधानीबासीको तीर्खा मेटाउनकै लागि उनले मेलेम्ची खानेपानी आयोजना अघि बढाएका हुन् , तर काठमाण्डौबासीले कहिले उनलाई यसको जस दिएनन् ।

भट्टराई तीन पटक काठमाडौंमा निर्वाचन लडे तीनै पटक जित्ने अवसर पाएनन् । प्रजातन्त्र सर्वोत्तम शासन व्यवस्था हो भनिन्छ , राजधानी काठमाडौं शिक्षित तथा सचेत जनता बस्ने ठाउँ पनि भनिन्छ , तर मेलम्ची खानेपानी आयोजनाको कुरा गरेकै कारण कृष्णप्रसाद भट्टराईलाई सँधै चुनाव हराई रहने जनता पनि काठमाडौंकै हुन् । मेलम्चीको कुरा गरिरहँदा कृष्णप्रसाद भट्टराईलाई काठमाडौंबासीले के कति अपमान र तिरस्कार गरे ? भन्ने कुरा संझेपमा उल्लेख गर्दछु ।

२०४८ सालको आम निर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका तत्कालिन प्रधानमन्त्री भट्टराईले नयाँ बानेश्वरमा आयोजित आमसभामा बोल्दै भनेका थिए, ‘राजधानी काठमाडौंको मुख्य समस्या खानेपानी हो, यसका लागि मैले धेरै स्रोत खोजेँ, उपत्यकाभित्र कुनै स्रोत देखिन, अब मेलम्चीबाट पानी ल्याएर म काठमाडौंवासीलाई खुवाउँछु ।’भट्टराईले मेलम्चीको पानी ल्याउने घोषणा गर्दै गर्दा ताली पिट्ने र हाँस्नेहरू बराबरजस्तै थिए । मञ्चमा बस्नेहरू पनि धेरै हाँसेका थिए । मञ्चमा बस्नेहरू हाँसेको देखेपछि सन्त नेता भट्टराईले पनि हाँसो थाम्न सकेनन् उनी पनि एक छिन हाँसे । भोलिपल्टका मिडियामा उक्त समाचार हदैसम्मको ‘जोक’का रूपमा आयो ।

नेपाली कांग्रेसका सभापति , बहालवाला तथा भावी प्रधानमन्त्री भट्टराई २ सय ५ निर्वाचन क्षेत्रमध्ये त्यतिबेला जहाँबाट पनि उम्मेदवार हुन सक्थे । उम्मेदवार बनिदिन अनुरोध गर्दै उनी कहाँ धेरै निर्वाचन क्षेत्रबाट डेलिगेसन आएको थियो, तर उनले काठमाडौं क्षेत्र नं १ नै रोजे । केही ठूला नेताहरू दुई–दुई ठाउँबाट उम्मेदवार बने तर उनी काठमाडौं क्षेत्र नं १ बाट मात्रै उम्मेदवार बने । मुलकका सबैभन्दा सचेत मतदाता बस्ने क्षेत्र भएका कारण आफूलाई धोका हुँदैन भन्ने ठम्याईका साथ भट्टराईले यो जोखिम लिए । तर बानेश्वरको आमसभामा मेलम्चीको पानी ल्याउने घोषणा गर्दा मञ्चमा बस्नेहरूसमेत हाँसेको देखेपछि भट्टराईको मनमा चिसो पसेको थियो । सचेत मतदाता भनिए पनि उनीहरूले भट्टराईको मेलम्ची सपनालाई हावादारी ठाने । कसैले गम्भीर रूपमा लिएनन् । पढेलेखेका र प्रविधि बुझेकाहरूले समेत प्रश्न उठाए–‘२७ किलोमिटर लामो सुरुङ बनाएर पानी ल्याउने घोषणा सम्भव छैन ।’

नभन्दै भट्टराईले चुनाव हारे । त्यसपछि मुलुकमा गिरिजाप्रसाद कोइराला , मनमोहन अधिकारी , शेरबहादुर देउवा , लोकेन्द्रबहादुर चन्द ,सूर्यबहादुर थापा र फेरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । मेलम्चीको कुरा उच्चारणमा सम्म आएन । ०५६ सालको आम निर्वाचनमा भट्टराई भावी प्रधानमन्त्रीको रूपमा फेरी काठमाडौं–१ मा उम्मेदवार बने । उनले बानेश्वरमा आयोजित चुनावी आमसभामा फेरी त्यो कुरा दोहोर्याए । यसपटक भने मान्छे नहाँसेको देखेपछि भट्टराईले भने, ‘म प्रधानमन्त्री भएकै बेला पिउन मात्रै होइन सडक पखाल्ने गरी मेलम्चीको पानी आउनेछ, म आँफै अघि सरेर सडक पखाल्ने छु , वरिपरी कम्युनिस्टहरू देखापरे भने तिनका आँखामा पानी छ्यापिदिनेछु ।’ यसपछि भने आम सभामा निकैबेर हाँसो र तालीको पर्रा छुट्यो । दोस्रोपटक प्रधानमन्त्री हुनासाथ भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाइहाले । अनेक प्रतिकुलताका बाबजुद २१ वर्षपछि अब सन्त नेता भट्टराईको मेलम्ची सपना पूरा हुनै लागेको छ ।

यदी काठमाडौं–१ का मतदाताले ०४८ सालको निर्वाचनका क्रममा भट्टराईले गरेको उक्त घोषणालाई जोकका रूपमा नलिइदिएको भए आजभन्दा १० वर्षअघि नै मेलम्चीको पानी काठमाडौं आइसक्ने थियो। खासगरी काठमाडौं महानगरपालिकाको बानेश्वर तथा कोटेश्वर क्षेत्र नेपाली कांग्रेसको पहिलेदेखिको गढ मानिन्छ । कांग्रेसका कार्यकर्ता मात्रै इमान्दार भइदिएको भए पनि भट्टराईले चुनाव हार्ने अवस्था थिएन । हरेक चुनावमा काठमाडौंको बानेश्वर कोटेश्वर क्षेत्रमा कांग्रेसको झण्डा नगाडिएका घर कमै हुन्छन् । तर, परिणाम भने केही अपवादलाई छाडेर सधैँ कांग्रेसको विपक्षमा देखिने गरेको छ ।

जसका लागि आफ्नो जिवन अर्पण गरे उसैबाट सबै भन्दा बढी धोका पाए कृष्णप्रसाद भट्टराईले । उनले नेपाली कांग्रेसकै लागि आफ्नो सारा जीवन अर्पण गरे । तर कांग्रेसकै अन्तरघातका कारण चुनाव हारिरहे । एक पटक पनि जननिर्वाचित प्रधानमन्त्री नवनी दिवंगत हुने अवस्था उत्पन्न भए पछि मात्रै उनी चुनाव लड्न वीरगञ्ज पुगे । वीरगञ्जमा पनि भट्टराईले मेलम्ची खानेपानी आयोजनाकै कुरा गरे । वीरगञ्जबासीका लागि मेलम्ची खासै सरोकारको विषय थिएन , तर वीरगञ्जबासीले काठमाडौंबासीको जस्तो कृतघ्नता देखाएनन् । चुनाव जिताइ दिए ।
वर्तमान प्रधानमन्त्री केपी ओलीले राजधानी काठमाडौंमा चिनियाँ रेल, घरघरमा ग्याँस पाइप र एक महिना भित्र पानीजहाज ल्याउने कुरा गरिरहँदा धेरै मान्छेले पत्याएका थिए । पत्याउनु पर्ने कारण मेलम्ची नै थियो ।

 

असंभव भनिएको मेलम्ची त संभव भयो भने रेल, ग्याँस पाइप र पानी जहाज कसरी संभव नहोला ? भन्दै जनताले ओली र उनको पार्टीलाई मत दिए । करिव दुई तिहाई बहुमतका साथ ओली प्रधानमन्त्री निर्वाचित भए । तीन वर्ष नाघिसकेको यो कार्यकालमा रेल, घरघरमा ग्याँस पाइप र पानी जहाजको योजना गर्भाधान समेत हुन सकेको छैन । ओली प्रधानमन्त्री हुँदै गर्दा ९८ प्रतिशत काम सम्पन्न भएको मेलम्ची खानेपानी आयोजनाको यो तीन वर्षको अवधीमा निर्माणको गति अत्यन्त सुस्त रह्यो । यो तीन वर्षमा मेलम्चीले धेरै हण्डर बेहोर्यो । आयोजना करिव करिव वेवारिसे बन्यो । तर धेरै ठूलो जनदबावका कारण आयोजना तुहाउन भने कम्युनिष्टहरुले सकेनन् ।

मेलम्चीको पानी सुन्दरीजल स्थित बाग्मती नदीमा झार्ने समारोहको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने –‘ यो आयोजना सुरु हुँदा मेरो कपालका रौं सबै काला थिए, एउटा पनि सेतो थिएन, तर अहिले. सबै सेतो भइसकेको छ , एउटा पनि कालो छैन ।’ ओलीको यो भनाई सत्य हो । यो २२ वर्षको घामपानीले ओलीको कपाल सेतो भएको हो । ओलीको उमेर निकै छिप्पियो तर उमेर अनुसार उनको बुद्धि पनि छिप्पिएको भए देश र जनताले यति दुख पाउने थिएनन् । मेलम्चीको पानी काठामाडौं झार्ने समारोहमा प्रधानमन्त्री ओलीले ठ्याक्कै ३३ मिनेट भाषण गरे । तर कृष्णप्रसाद भट्टराईको नाम भने उच्चारण समेत गरेनन् ।

मेलम्ची आयोजना आफैले सुरुवात गरेको र आफ्नै कारण सम्पन्न भएको दावी प्रधानमन्त्री ओलीले गरे । राजनीति गर्नेहरुको दिमाग कतिसम्म खराव हुँदो रहेछ ? भन्ने कुराको ज्वलन्त उदाहरण बने ओली । इश्वरले यति खराव मान्छे समेत स्रिस्टि गरेका रहेछन् भन्ने उदाहरणका रुपमा ओलीले आफैलाइै प्रस्तुत गरे । बास्तवमा भन्ने हो भने मेलम्चीको पानी खस्ने ठाउँ सुन्दरीजलमा कृष्णपूसाद भट्टराईको शालिक राख्ने काम गर्नु पर्थ्यो । उक्त योजनालाई कृष्णप्रसाद भट्टराई खानेपानी आयोजना भनेर नाम राख्नु पर्थ्यो। मध्यपहाडी लोकमार्ग निर्माणमा पुष्पलालको के योगदान छ ? तर कम्युनिष्टहरुले पुष्पलाल लोकमार्ग भनेर नाम राखे । पुर्व पश्चिम भित्री मधेश मार्गमा मदन भण्डारीको के योगदान छ ? तर उक्त मार्गलाई कम्युनिष्टहरुले मदन भण्डारी मार्ग भनेर नाम राखे । तर मेलम्ची खानेपानी आयोजनाका जन्मदाता कृष्णप्रसाद भट्टराई हुन् । उनको नाममा यो आयोजनाको नामाकरण गरिनु पर्छ । तर प्रधानमन्त्री ओलीले ३३ मिनेट बोल्दा नाम सम्म लिएनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.