मन्त्रीले निर्णय गर्न नसक्दा ७० लाख विद्यार्थीको भविष्य अन्योलमा

| 2020 Sep 10 | 07:46 am 2173

काठमाडाैं, भदाै २५ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरामणि पोखरेलको कारण यो वर्षको शैक्षिक सत्र अलमलमा पर्ने अवस्था सिर्जना भएको छ । मन्त्री आफैले ठोस निर्णय गर्न नसक्दा सरकारी लगानीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प प्रायः छ ।

निजी विद्यालयले पढाइ शुरु गरे पनि मन्त्रालयले स्थानीय तहको अधिकार हस्तक्षेप गरी शुल्क लिने अधिकारको बाटो बन्द गरेपछि समस्या बल्झँदै गएको छ ।

तीन महिनाअघि नै वैकल्पिक माध्यमबाट पढाउने विषयमा गर्नुपर्ने निर्णय मन्त्रीकै कारण अड्किएको छ । मन्त्री पोखरेलले हरेक पत्रकार सम्मेलन र सरोकारवालासँग हुने भेटघाटको क्रममा चालु शैक्षिक सत्रमा वैकल्पिक माध्यमबाट पढाइ शुरु गर्ने विषयमा जानकारी गराएका थिए ।

हरेक कार्यक्रममा उनले यो शैक्षिक सत्रमा वैकल्पिक माध्यमबाट पठाइ शुरु गर्नेछौं भने, तर कहिलेदेखि त? यस्तो उत्तर अहिलेसम्म दिन सकेका छैनन् ।

मन्त्री पोखरेल कहिले प्रधानमन्त्री त कहिले विभिन्न निकायसँग छलफलमा रहेको भन्दै आफै पन्छन खोजिरहेका छन् । मन्त्री पोखरेलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर वैकल्पिक माध्यममा बढाउने विषयको मोडालिटीबारे छलफल गरे पनि त्यसको निकास भने अझै निस्कन सकेको छैन ।

अघिल्लो मन्त्रिपरिषद्को बैठकले निर्देशिकासँगै कार्ययोजना ल्याउने निर्णय गरेपछि निर्देशिका सार्वजनिक गर्ने काम फेरि रोकिएको छ । मन्त्री पोखरेललाई सल्लाह दिने सल्लाहकार नभएर हो वा आफैले काम गर्न नसकेको कारण ५ महिनादेखि करिब ७० लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

मन्त्रालयमा सहसचिवको अभावको कारण शिक्षा सचिव डा. सञ्जय शर्माले कार्ययोजना तयार गर्नुपर्ने अवस्था विद्यमान छ । अहिले मन्त्रालयमा एक जना मात्र सहसचिव कार्यरत छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.