मतदान सकेर यार्सागुम्बा टिप्न लर्को

| 2022 May 16 | 07:34 am 981

मनाङ, जेठ २ः स्थानीय तह निर्वाचनअन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँका चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडीबुटी (यार्सागुम्बा) सङ्कलनको चटारो परेको छ ।

उनीहरू मतदान सकिएपछि यार्सागुम्बा सङ्कलन गर्न खर्क पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान कार्य सकेर खर्क पुगिसकेका हुन् । उनीहरू आइतबारदेखि नै यार्सागुम्बा

सङ्कलनमा आफूलाई व्यस्त बनाएका छन् । मतदान सकिएको भोलिपल्टै मनाङवासी खर्कतर्फ लागेका हुन् । उनीहरूको मुख्य आयस्रोत जङ्गली औषधिजन्य जडीबुटी यार्सागुम्बा नै हो । जडीबुटी सङ्कलनका लागि उनीहरू अहिले नारफु, नाम्के खर्क, खाङ्सार खर्क पुगिसकेका हुन् ।

“स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो । मतदान पनि गरियो । अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौँ,” चामे गाउँपालिका–४ का जगबहादुर गुरुङले भने । उनले मनाङको विकासका लागि जनप्रतिनिधि चुन्न खर्क छोडेर आएको र मतदान सकेर पुनः खर्कतर्फ फर्किएको बताए ।

त्यस्तै गोर्खा घर भई यार्सागुम्बा सङ्कलन गर्न मनाङ पुग्नुभएका सोनाम गुरुङले ‘सिजन’लाई समात्न सक्नुपर्ने भएकाले मतदानमा सहभागी भएर खर्कतर्फ लागेको बताए । “समयमै यार्सागुम्बा सङ्कलन गर्न सकिएन भने पछि हराउँछ । त्यही भएर अचेल खर्कतर्फ छिटो फर्किन लागेका छौँ,” उनले भने ।

स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत वैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा सङ्कलन कार्य बन्द गराएको थियो । यार्सागुम्बा सङ्कलन बन्द गरिएपछि जिल्लावासी आआफ्ना घर फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा सङ्कलनका लागि उनीहरू खर्कतर्फ मतदान सकिएको भोलिपल्टै उक्लिएको स्थानीयवासी बताउँछन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.