भागरथी हत्यामा चिनेजानेकै व्यक्ति संलग्नता

रिपोर्ट नेपाल | 2021 Feb 14 | 08:27 am 2049

बैतडी, फागुन २ः दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ। अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन्।

घटनास्थलको भौगौलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन। चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो, दोगडाकेदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने। सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बताए। ‘हामी तुरुन्तै दोषी पत्ता लगाउर्छाें, सार्वजनिक गर्छौं’, उनले भने।

प्रहरी भागरथीको बलात्कार हत्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य र प्रमाण जुटाउन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। प्रहरी एक निचोडमा पुगिसकेको छ, त्यसलाई पुष्टि गर्न केही तथ्य जुटाउने क्रममा हामी छौं, उनले भने, वास्तवमै अनुसन्धान साँघुरो घेरामा पुगेको छ। तथ्यले पुष्टि गरेपछि हामी पक्राउ गर्छौं।

विधि विज्ञान प्रयोगशालाको रिपोर्ट पनि आउन बाँकी छ। घटनास्थलबाट संकलित रगत, भेजाइनल स्वाब, मोबाइललगायत संकलन गरेर नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको छ। उनले पनि चिनजानकै स्थानीय बलात्कार र हत्यामा संलग्न भएको बताए। अपराधी पत्ता लगाएपछि सबै कथावस्तु आउने उनले बताए। प्रहरीले शंकास्पद धैरैजनासँग सोधपुछ गरिसकेको छ।

घटनाको दिन घटनास्थल आसपास देखिएका व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। भागरथीको शव भेटिएको शनिबार दस दिन पुगेको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.