बुजुलीकाे पोलबाट खसेर एक विद्युत कर्मचारीकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 15 | 09:25 am 1130

पर्वत, भदाै ३०ःसोमबार साँझ बुजुलीकाे पोलबाट खसेर नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका ३५ वर्षीय भोलाराम शर्मा रहेका छन् ।

उनी पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेको समयमा पोलबाट खसेर मृत्यु भएको हो ।

पोलबाट खसेपछि गम्भीर घाइते भएका शर्माको  उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।

अवरुद्ध भएको विद्युत् लाइन मर्मतका लागि शर्मा पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ ।

मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । आज परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.