बार्सिलोनामा भुइँचालो : कोउटिन्हो, स्वारेज, राकिटिक लगायत ११ खेलाडी बेच्ने तयारी

रिपोर्ट नेपाल | 2019 May 10 | 07:30 pm 3961

एजेन्सी, बैशाख २७ : लगातार चौथो वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलबाट लज्जास्पद हार खेप्दै बाहिरिएपछि स्पेनिस महारथी बार्सिलोनामा अहिले एक किसिमको भुइँचालो गएको छ । टोलीका खेलाडी र पदाधिकारीबीच सन्नाटा छाएको अवस्था छ । मैदानको तयारीमा पनि खेलाडी जम्न सकिरहेका छैनन् । चेन्जिङ रुममा खेलाडी एक आपसमा बोल्न सकिरहेका छैनन् ।

च्याम्पियन्स लिगको सेमिफायनल अन्तर्गत दोस्रो लेगमा लिभरपुलसँग ४–० गोलको हार खेपेपछि बार्सिलोना अहिले एक प्रकारको शोकमा डुबेको छ । उसलाई सबैभन्दा पिडा पहिलो लेगको ३–० गोलको अग्रता जोगाउन नसक्नुमा छ । एनफिल्डको खराब नतिजापछि कप्तान लियोनल मेस्सी सहकर्मी खेलाडीसँग धेरै रिसाएका छन् ।

लिभरपुलसँगको हारपछि मेस्सी ड्रेसिङ रुममा निकै रोएका थिए । क्याम्प नोउ फर्किएपछि पनि मेस्सीले अन्य सहकर्मीहरूसँग राम्ररी बोलिरहेका छैनन् । टोलीका केही खेलाडीको खराब प्रदर्शनले अप्रत्यासित हार भोग्नुपरेको मेस्सीले ठानेका छन् ।

बार्सिलोनाका खेल निर्देशक पेप सेगुराले बिहिबार कप्तान मेस्सीसहितका खेलाडीसँग छलफल गर्न चाहे पनि हारको पीडामा रहेका मेस्सीले छलफल गर्न नमानेको स्पेनिस समाचार माध्यामले जनाएका छन् । बार्सिलोनाले अहिले हारको मुख्य कारण प्रशिक्षक अर्नेस्टो भाल्भर्डे सहित केही खेलाडीको खराव प्रदर्शनलाई मानेको छ ।

फिलिप कोउटिन्हो, लुइस स्वारेज, इभान राकिटिक र जोर्डी अल्बाले दोस्रो लेगमा बिर्सनलायक प्रदर्शन गरेको पनि बताइएको छ । त्यसैले बार्सिलोनाले च्याम्पियन्स लिगबाट आउट भएपछि टोलीका ११ जना खेलाडी बेच्ने तयारी गरेको छ । बार्सिलोनाले कोपा डेल रेको फाइनलपछि खेलाडीमा आमूल परिवर्तन गर्ने तयारीमा छ ।

युवा र स्टार खेलाडी जुटाउने तयारीमा रहेको बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई पनि विदाई गर्न लागेको समाचार स्पेनिस पत्रपत्रिकाले उल्लेख गरेका छन् । बार्सिलोनाले बेच्ने खेलाडीको सूचिमा अहिले कोउटिन्हो सहित लुइस स्वारेज, केभिन प्रिन्स भोटेङ, थोमस भर्माइलन, मुरिल्लो, सामुएल उम्टीटी, इभान राकिटिक, माल्कोम, राफिन्हा लगायत खेलाडी छन् । ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोनाले कोपा डेल रेको फाइनल मे २५ तारिख भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.