बागदरबार नभत्‍काउन महानगरलार्इ चौतर्फी दबाब

रिपोर्ट नेपाल | 2018 Aug 01 | 09:15 am 1127

काठमाडौं, साउन १६: बागदरबार जोगाउनुपर्ने आवाज काठमाडौं महानगरभित्रै उठ्न थालेको छ। महानगरको २७ औं बोर्ड बैठकमा वडा अध्यक्षहरूले कलाकृतिले भरिपूर्ण बागदरबार जोगाउनुपर्ने धारणा राखेका हुन्। बागदरबार रहेकै ११ वडाका अध्यक्ष हिरालाल तन्डुकारलगायतले बागदबार जोगाउनुपर्ने अडान राखे।

जीर्ण भएका अन्य दरबारसमेत जोगिएको अवस्थामा बागदरबार जोगाउन सकिने उनले बताए। ‘बस्नै नमिल्ने भनेर रातो स्टिकर टाँसिएको सर्वोच्च अदालत रेट्रोफिट गरेर जोगाइएको छ। गद्दी बैठक जोगियो। शीतल निवास पनि जोगाइएको छ,’ तन्डुकारले भने, ‘बागदरबार किन जोगाउन सकिँदैन? यसलाई रेट्रोफिट गरेर जोगाउनुपर्छ भन्ने मेरो धारणा छ।’

उनले नयाँ भवन बनाउन समय नपुग्ने भएकाले यसलाई नै रेट्रोफिट गरेर पूर्ण सञ्चालनमा ल्याइनुपर्ने बताए। ‘हामी सकेसम्म नयाँ भवन हाम्रै कार्यकालमा निर्माण सम्पन्न गर्छौं। निर्माण सकेर पहिलो बैठक पनि गर्छौं भनेका थियौं,’ उनले भने, ‘तर अब यो सम्भावना रहेन। हाम्रो कार्यकाल अब साढे तीन वर्षमात्रै बाँकी छ । त्यति समयमा नयाँ भवन बनाउन भ्याइँदैन। अब यसैलाई रेट्रोफिट गर्नुपर्छ। यसो गरियो भने यहाँका कलाकृति पनि जोगिन्छन्। यहाँ भत्काएपछि जोगाउनै नसकिने कलाकृति छन्।’

उनले यो दरबार सम्पदा हो कि हैन भन्ने विवादमा लामो समय अल्झिएको बताए। ‘यो सम्पदा होइन। तर कलाकृतिले भरिपूर्ण दरबार हो । राष्ट्र बैंकले भत्काएको थापाथली दरबार पनि कलाकृतिले सम्पन्न थिए । भत्काउँदा ती मासिए,’ उनले भने, ‘बागदरबारमा पनि यस्तै कलाकृति छन्।’

यो दरबारलाई जोगाए महानगरलाई आर्थिक भार पनि कम पर्ने उनले बताए। ‘यो दरबार भत्काउने पैसाले रेट्रोफिट गर्न पुग्छ,’ उनले भने, ‘यसले महानगरलाई आर्थिक भार पनि कम पर्छ ।’ बागदरबारसम्बन्धी भएका ४ वटा अध्ययनले भने यसलाई जोगाउन सकिने प्रतिवेदन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.