बाँदरले गरायो उठिबास !

| 2021 Oct 09 | 07:44 am 1289

बैतडी, असोज २३ः बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् । भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौँ परिवार भारत पलायन भएका हुन् ।

बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका–५,को पल्लाचौडाली वडा नम्बर ८ को धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० को भटाला, झाका, बुड्डा, खडेनी, तिर, लगायतका गाउँबाट करिब एक हजार पाँच सयभन्दा बढी परिवारले गाउँ छाडेर हिँडेका छन् । यही कारण दशरथचन्द नगरपालिकाका पाँचवटा विद्यालय विद्यार्थी संख्या नपुग्दा बन्द भएको दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख मोसन नाथले बताए ।

बाँदर आतङ्कका कारण गाउँलेहरु परिवारसहित विस्थापित भएपछि दशरथचन्द नगरपालिका–८, मा रहेका रणशैनी आधारभूत विद्यालयमा छ जना विद्यार्थी र आठ जना शिक्षक छन् । विद्यार्थी संख्या कम भएपछि उक्त विद्यालय जगदम्बा मावि रानी मुङ्गामामा समाहित भएको नाथले बताए । उनले भने, “विद्यार्थी संख्या नुहँदा शिक्षकले मात्र तलब खाएर बस्नुपर्ने भएपछि उक्त विद्यालय समायोजन गरिएको छ ।” शिक्षा शाखा प्रमुख नाथका अनुसार दशरथचन्द नगरपालिका–१०, को शान्तिप्रकाश आधारभूत विद्यालय, रणशैनी आधारभूत विद्यालय र ज्ञानेश्वर आधारभूत विद्यालय अन्य विद्यालयमा गाभिएका छन् । त्यस्तै वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय, दनपा– ८, को रणसैनी आधारभूत विद्यालय र त्रिपुरासुन्दरी आधारभूत विद्यालय समायोजन भएका छन् ।

गाउँको विद्यालय बन्द भएर अन्तै समायोजन भएपछि बसाइँसराइँ गर्न नसक्ने परिवारका नेपाली विद्यार्थी सीमापारि भारतको पिथौरागढ जिल्लाको झुलाघाटस्थित राजकीय विद्यालय जाने गरेका छन् । गाउँका विद्यालय बन्द हुँदा भारतीय विद्यालयमा गएर पढ्नु पर्ने वाध्यता रहेको स्थानीय विद्यार्थी दिवान बिष्टले बताए ।सीमापारि गएर अध्ययन गर्दै आएका बिष्टले भने, “गाउँमा भएका सबै विद्यालय बन्द भइसके । भारतीय सीमा नजिक बस्ने हामी जस्ता विद्यार्थीलाई भारततिरै गएर पढ्न सजिलो छ । ”

समाचार सङ्कलन गर्न झुलाघाट पुग्दा भारतीय स्कुलबाट फर्किदै गरेका नेपाली विद्यार्थी मोहित महरले नेपाली राष्ट्रिगान थाहा नभएको बताए । विद्यार्थी सङ्ख्या नपुगेपछि ज्ञानेश्वर आधारभूत विद्यालय पनि दानेश्वर माविमा समायोजन भएको छ । गाउँमा रहेको विद्यालय अपायक पर्ने ठाउँमा मर्ज भएपछि स्थानीय साङ्डी गाउँका १५ जना विद्यार्थी सीमा पारि भारतीय स्कुल जाने गरेको स्थानीयवासी रघुवीर थापाले बताए ।

भारतबाट हजारौँ सङ्ख्यामा हरिद्वारका बाँदर नेपाली सीमा नजिक झुलाघाटमा ल्याएर छाड्ने गरिएको छ । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको मजिर काँडा ग्राम पञ्चायतको पूर्व सभापति सुरेन्द्र आर्यका अनुसार राज्य सरकारले राति राति गाडीका गाडी बाँदरहरु ल्याएर झुलाघाटको जङ्गलमा छाड्ने गर्छ । ‘‘यो खासमा नेपालको समस्या हैन”, उनले भने, ‘‘यो चुनौती हाम्रो चुनौती हो ।” राज्य सरकारले राति सुेतका बेला गाडीका गाडी ल्याउँछ । नेपालको वैतडी र भारतको पिथौरागढ जिल्लाको सीमा जोडिएको छ ।

बाँदरले दुःख दिन थालेपछि दशरथ चन्द नगरपालिका– १० बुड्डा गाउँका २० परिवारले गाउँ छाडेको स्थानीय स्वास्थ्य स्वयंसेविका मञ्जु चन्दले बताए । बाँदरकै कारण आफूले विगत दुई वर्षदेखि खेतीपाती गर्न छोडेको चन्दले बताए ।

हरिद्वारका बाँदरले गाउँमा लगाएको खेतीपाती सखाप पार्न थालेपछि हुनेखानेहरु तराईतिर झरेको र गरिब बिपन्न परिवार भारत गएपछि स्थानीय कैलपाल आधारभूत विद्यालयमा विद्यार्थी नहुँदा स्कुल बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक लक्ष्मण थापाले बताए । बाँदरका कारण दरशथ चन्द नगरपालिका वडा नम्बर ४, ५, ६, ८ र १० को गाउँका किसानले खेतीपाती लगाउन छोडेर परिवार बसाइँ सर्न थालेपछि दशरथ चन्द नगरपालिकाले बाँदर धपाउन १० लाख रुपियाँ बजेट खर्च गरेको उपप्रमुख मीना चन्दले बताए । उपप्रमुख चन्दले भने, “बाँदर धपाउन १० लाख बराबरमा मेसिन ल्यायौं तर बाँदर भगाउन सकेका छैनौं ।” गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.