प्रधानमन्त्रीकै आदेशमा गोली

रिपोर्ट नेपाल | 2020 Jan 11 | 08:56 am 1218

भर्खरै प्रजातन्त्र आए पनि प्रजातान्त्रिक अभ्यासको अनुभव थिएन । पार्टी संगठन विस्तारको अभियानमा रहेको कांग्रेस र कम्युनिस्टहरु एकअकाप्रति असहिष्णु थिए । वामपन्थीहरु नेपालमा अमेरिकी साम्राज्यवादलाई स्थान दिएर बीपीले युद्ध अखडा बनाउ खोजेको आरोप लगाउँथे । कांग्रेसीहरुचाहिँ वामनेता पुष्पलाल मौका पाउनेबित्तिकै स्टालिनको सेना बोलाई नेपालबाट प्रजातन्त्र निमिट्यान्न पार्न क्रियाशील छन् भनेर प्रचार गर्थे ।

२००८ सालको सेरोफेरोमा नेपाली राजनीतिमा कांग्रेस र वामपन्थीबीचको घोचपेच चुलिएको थियो । कम्युनिस्टहरुले क्रोधको सिङगो तारो बीपीलाई बनाएका थिए भने कांग्रेसीहरुले पुष्पलाललाई । काठमाडौंमा सुरक्षा कानून लागू थियो । गृहमन्त्री बीपीको नौ महिने कार्यकालमा बनेको त्यो तेस्रो सुरक्षा कनून थियो । त्यही कानूनको विरोधमा २००८ साल कात्तिक २० गते नयाँसडक, भूगोलपार्कमा अखिल नेपाल विद्यार्थी फेडेरेसन, नेपाल छात्र संघ, संस्कृत छात्र संघ र नेपाल स्टुडेन्ट्स युनियन सम्मिलित विद्यार्थी संघर्ष समितिले संयुक्त कार्यक्रम आयोजना गरेका थिए । धेरै नेताले मन्तव्य राखिसकेका थिए, एक जनामात्र बाँकी थिए । त्यही बेला सुरक्षाकर्मीले पुर्जी देखाउँदै मञ्चमा रहेका विद्यार्थी नेतालाई पक्रिएर लगे । पुलिसको उत्तेजक व्यवहारबाट भाषण सुन्न आएका विद्यार्थी र सर्वसाधारण आक्रोशित भए ।

पक्राउ परेका विद्यार्थी नेता छुटाउन जुलुस हनुमानढोका पुलिस चौकी तर्फ जाँदै थियो । हनुमानढोका गद्दी बैठकबाट अघि बढेर श्वेतभैरवको मन्दिरनिर पुग्दानपुग्दै टियर ग्यासका साथै गोली पड्केको आवाज आयो । विश्व निकेतन हाइस्कुलका १४ वर्षीय छात्र चिनियाँकाजी गम्भीर घाइते भए । त्यही राति वीर अस्पतालमा उनको निधन भयो ।

भोलीपल्ट नेतपाल प्रजा परिषद, नेपाल कम्युनिष्ट पार्टी, नेपाली राष्ट्रिय कांग्रेस बीपी र नेपाली कांग्रेसको बिरोधमा जुलुस गरे । आक्रोशित भीडले नेपाली कांग्रेसको झण्डा च्यात्नुका साथै बीपी निवास रंगमहल (केशरमहल) घेराउ गर्यो । वामपन्थीहरुले चिनियाँकाजीको शवलाई सहर परिक्रमा गराई बीपीको व्यापक आलोचना गरे । भर्खरै स्थापना भएको प्रजातन्त्र कमजोर बनाउन राणाहरु राजनीतिक दलहरुबीच विवाद चर्काउन चाहन्थे । भयो पनि त्यस्तै । ती दिनमा वाम विद्यार्थीका तर्फबाट आन्दोलनमा सक्रिय अरविन्द रिमाल भन्छन्, राणा र भारतीय शासकहरु त्यस्तै मौका ढुकिरहेकै थिए ।

गृहमन्त्रीको नाताले हत्याको नैतिक जिम्मेवारी बीपीकै थियो । तर त्यो गोलीकाण्डमा बीपीको हात भने थिएन । राजा त्रिभुवनका निजि सचिव दयारामभक्त माथेमा लेख्छन्, वास्तवमा गोली चलाउने आदेश गृहमन्त्रीले दिएका थिएनन् । विभागीय मन्त्रीको आदेशबिना गोली चलाइएको विषयमा छानविन हुँदा स्वयम् प्रधानमन्त्री मोहन शमशेर संलग्न रहेको प्रमाण फेला पर्यो । पक्राउ परेका गोर्खा परिषद्का मानिसहरुबाट यो रहस्य खुलेपछि उत्पन्न परिस्थितिबारे राजा र कांग्रेस नेताहरुबीच लामो छलफल भयो । तयसपछि सिंहदरबारको बिलियार्ड हलमा भएको बैठकमा बीपीले चिनियाँकाजी हत्याकाण्डमा मोहन शमशेरको संलग्नता रहेको प्रमाण सबैसामु राखिदिए ।

त्यो दिनको बैठकलाई नजिकबाट हेरेका राजा त्रिभुवनका सचिव दयारामभक्त लेख्छन्, विद्यार्थीले प्रहरी कार्यालयमा हमला गरेपछि प्रधानमन्त्री मोहन शमशेरले गोली चलाउने आदेश दिनुभएको रहेछ । जुलुसलाई उत्तेजित बनाउने काममा राणाका मानिस सक्रिय थिए । घटना भएपछि मात्र बीपीले गोली चलेको थाहा पाए । गोली हान्न आदेश दिने प्रधानमन्त्री मोहन शमशेर आफैंले चिनियाकाजीको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गराउने आश्वासन दिए । र उनको आसय घटनाको दोष गृहमन्त्रीले लिनुपर्छ भन्ने थियो ।

भर्खरै सहायक सचिवमा नियुक्त भई दरबारमा पस्दाको अनुभवबारे राजा महेन्द्रको प्रमुख सचिव इश्वरीमान श्रेष्ठले भनेका छन्, त्यो घटनाको दोष राणाले कांग्रेस र कांग्रेसले राणालाई लगाउने क्रम उत्कर्षमा थियो । प्रधानमन्त्रीले आफूमाथि दोष लगाएपछि प्रत्युत्तरमा बीपीले वक्तव्य जारी गरे, मोहन शमशेर मन्त्रीमण्डल रहेसम्म नेपालमा शान्ति र प्रजातन्त्र आउन सक्नेछैन । प्रतिक्रियावादी शक्तिहरु गोलमाल मच्चाई एकतन्त्रात्मक तानाशाही फेरि फर्काउने कोसिसमा छन् । गोली हान्न लगाएर मान्छे मार्ने र त्यसको दोष गृहमन्त्री बीपीमाथि थोपार्ने मोहन शमशेरको षडयन्त्र पर्दाफास भयो । त्यसअघि नै गोर्खादल काण्डमा पनि प्रधानमन्त्रीकै संलग्नता रहेको पुष्टि भइसकेको थियो । त्यही घटनालाई लिएर बीपीले राजीनामा दिए । कांग्रेस सत्ताबाट बाहिरियो । २००८ साल, कात्तिक २५ गते बीपीले राजीनामा गरे । एक वर्षअघि त्यही दिन राणाशासनको अन्त्यका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति सुरु भएको थियो । बीपीले रेडियो नेपालमार्फत जनतालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरे । त्यसपछि मात्रै दरबार पुगेर राजासमक्ष राजीनामा बुझाए ।

दिल्ली सम्झौताअनुसार एउटा पक्षले राजीनामा गरे अर्कोले स्वतः सरकार छोड्नुपर्ने थियो । मोहन शमशेर राजीनामा दिन बाध्य भए । चिनियाँकाजी हत्या प्रकरण संयुक्त सरकारबाट बीपीलाई हटाउने भारतीय डिजाइनको परिमाण थियो । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका छन्, चिनियाँकाजी काण्ड वास्तवमा बीपी र राणाजीहरुलाई मन्त्रीमण्डलबाट हटाउने इण्डिया गभर्मेन्टको साजिस थियो । त्यो प्रधरणले नेपालमा बहुदलीय प्रजातान्त्रिक राजनीतिक अभ्यास नराम्ररी बिथोलिन पुग्यो । नेपालको नीति निर्माण र शासनयन्त्रमा भारतको हस्तक्षेपको अध्याय आरम्भ हुने पुग्यो । राष्ट्रवादी धारको प्रतिनिधित्व गर्ने बीपीलाई हटाएर प्रधानमन्त्री नेहरुको दवाबमा भारतीय संस्थापन पक्षका हिमायती मातृृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाइयो ।

संयुक्त सरकारको पतनसँगै बीपी प्रधानमन्त्रीका स्वभाविक दाबेदार थिए । तर नेहरुले कुनै हालतमा प्रधानमन्त्री नबनाउन राजालाई दवाब दिएकाले प्रधानमन्त्री हनुबाट त्यो बेला बीपी रोकियो । काठमाडौंस्थित आफ्ना राजदूतमार्फत नेहरुले राजालई पत्र पठाएर भनेका थिए, म अब नेपाली कांग्रेसको सरकार बन्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु । बीपीमा नैतिक गुण भएपनि उनका केही प्रष्ट कमजोरी छन् र उनी निरन्तर अलोप्रिय बन्दै गएका छन् । बीपी प्रधानमन्त्रीका उपयुक्त विकल्प हु्न् भन्ने मलाई लाग्दैन । त्यस्तो कुनै पनि नियुक्तिले सरकारलाई बलियो होइन, कमजोर बनाउँछ । यसले बीपी कोइरालाको आफ्नो हातमा अधिकार बढाउने प्रवृत्तिले प्रोत्साहन पाउँछ र उनी सर्वसत्तावादी बन्ने कोसिस गर्न सक्छन् ।

नेहरुले मातृकालाई प्रधानमन्त्री बनाउन राजालाई पत्रै पठाएपछि कांग्रेसमा हंगामा भयो । राजालाई पठाएको पत्रमा नेहरुले भनेका थिए, प्रधानमन्त्री बनाउन मैले देखेका एकमात्र उपयुक्त व्यक्ति हुन्, मातृकाप्रसाद कोइराला । मातृका जसरी पनि सरकारमा आउनुपर्छ र उनले वर्तमान प्रधानमन्त्रीको ठाउँ लिनु पर्छ भन्ने मलाई लाग्छ । नेहरुको सल्लाहविपरीत जान राजालाई सहज थिएन, यसै पनि उनी मातृकालाई नै बनाउने पक्षमा थिए । नेहरुको पत्रले बीपीलाई रोक्न राजाको चाहानालाई झ बल पुर्यायो ।

हुन त गृहमन्त्रीबाट राजीनामा गरेपछि प्रधानमन्त्री बनाउने आश्वासन बीपीले पहिले नै नपाएका होइनन् । सबैतिर धोका पाएपछि बीपीका अघिल्तिर संयुक्त मन्त्रीमण्डल विघटनपछि नारायणहिटी राजदरबारबाट निस्कने क्रममा प्रधानमन्त्री मोहन शमशेरले गणेशमानलाई भनेका कुरा सम्झिनुको विकल्प रहेन । त्यो दिन उनले भनेका थिए–के अब नेपालको प्रंधानमन्त्री नेपालीले नै छान्न पाउँला ? जगत नेपालद्वारा लिखित बीपीको विद्रोह

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.