प्रदेश १ मा डेंगुका कारण एकजनाको मृत्यु, तीन हजार एक सय ६० संक्रमित

| 2019 Aug 20 | 08:18 am 825

माेरङ, भदाै ३:महामारीको रूपमा फैलिएको डेंगुबाट एक जनाको ज्यान गएको छ। प्रदेश १ मा डेंगुका कारण एकजनाको ज्यान गएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

तीन महिनाअघि सुनसरीबाट सुरु भएको डेंगुको संक्रमण प्रदेशभर फैलिएको छ। प्रदेश १ मा मात्रै हालसम्म तीन हजार एक सय ६० जनामा संक्रमित छन्। डेंगुको संक्रमण साविक मेची र कोशी अञ्चलका पहाडी जिल्लातर्फ पनि उक्लिएको छ। भित्री मधेसअन्तर्गतको जिल्ला उदयपुर, पहाडको पाँचथर र भोजपुरसम्म संक्रमण फैलिएको छ। रोग नियन्त्रणका लागि अभियान चलाए पनि संक्रमितको संख्या झन् बढिरहेका छ।

सबैभन्दा बढी सुनसरी संक्रमित छन्। सुनसरीमा ३ हजार २५ जनामा डेंगुको संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार मोरङ ८१ र झापामा २९ जनामा संक्रमण देखिएको छ। पहाडी जिल्ला भोजपुरमा ५, पाँचथरमा २ र संखुवासभा एकजनामा डेंगुको संक्रमण देखिएको छ। त्यस्तै इलाम २, ताप्लेजुङमा २ जना र धनकुटामा ५ जना मानिसमा रोगको संक्रमण देखिएको छ। भित्री मधेसको उदयपुरमा १९ जना व्यक्ति उपचाररत छन्।

पहाडी जिल्लामा समेत संक्रमण फैलँदा नियन्त्रणमा चुनौति र जटिलता थपिएको मन्त्री घिमिरेले बताए। मोरङका स्वास्थ्य संस्थामा दैनिक २ जनाको दरले परीक्षणका लागि आउने गरेको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए। ‘डेंगुले मोरङमा प्रकोपकै रूप नलिएको भएपनि नियन्त्रणमा आएको छैन। अस्पतालमा दैनिक १/२ जना बिरामी आइरहेका छन् ।

डेंगु नियन्त्रणमा नआएपछि दैनिक जसो प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरूले निःशुल्क उपचारको माग गरेका छन् । सांसद अम्बिका थापाले प्रदेश सरकारले डेंगुको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन नभएको बताइन्।

डेंगु पत्ता लगाउन जाँच गर्ने क्रममा निजी र सरकारी अस्पतालमा चर्को शुल्क असुल्ने गरिएको सांसद थापाले जानकारी दिइन्। अन्नपूर्ण पाेष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.