प्रकोप फैलिएको २० दिनपछि चिकित्सक टोली ताँजाकोट पुगे

रिपोर्ट नेपाल | 2019 Apr 29 | 07:23 am 1578

हुम्ला, वैशाख १६: जिल्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न चिकित्सक र औषधिको टोली पुगेको छ ।

प्रकोप फैलिएको २० दिनपछि आइतबार सेनाको हेलिकोप्टरबाट चिकित्सक टोली ताँजाकोट पुगेको हो । हालसम्म रुघाखोकीबाट नौजनाले ज्यान गुमाइसकेका छन् । ताँजाकोटमा रुघाखोकीबाट दुई सयभन्दा बढी बिरामी परेका छन् ।

यहाँ औषधिको चरम अभाव भएको थियो । सदरमुकामबाट ४५ कोस टाढाको यस गाउँमा १९ दिनसम्म कुनै सरकारले डाक्टर र औषधि पठाउन सकेको थिएन । सदरमुकामबाट ताँजाकोटसम्म पैदल पुग्न तीन दिन लाग्छ ।

प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको आग्रहपछि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको हो ।

गृह मन्त्रालयले हेलिकोप्टर उपलब्ध गराएपछि विशेषज्ञ टोली सामाजिक विकास मन्त्रालयले पठाएको हो, मन्त्री रावलले भने । औषधि उपकरण र स्वास्थ्यकर्मी लैजान हेलिकोप्टरले सुर्खेतदेखि ताँजाकोटसम्म दुईपटक उडान भरेको थियो ।

डेढ सय बिरामीको जाँच
आइतबार प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतबाट डा तेजराज भट्टराई नेतृत्वको टोली ताँजकोट पुगेको हो । टोलीमा चार जना डाक्टरसहित ल्याब टेक्निसियन र स्वास्थ्यकर्मी छन् । डा भट्टराई, डा केएन पौडेल, डा केशव अधिकारी र डा मनोज तिमिल्सिना तथा हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याब असिस्टेन्ट धर्म अधिकारीसहितको टोलीले प्रकोपस्थल पुगेलगत्तै उपचार सुरु गरेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

टोलीले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आइतबार एक सय ५० बिरामीको जाँच गरिएको छ । तीमध्ये अधिकांशमा रुघाखोकी देखिएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् ।

टोलीले वडा नम्बर २ मा स्वास्थ्य शिविर चलाएको छ भने सोमबार वडा नम्बर १ मा शिविर सञ्चालन गर्ने जनाएको छ । भौगोलिक विकटताले सबै वडामा पुग्न नसकिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

मैला स्वास्थ्यचौकीका अहेव मोतीलाल जैसीले बिरामीको जाँच र नमुना संकलन भइरहेको बताए । ‘बिरामीको नमुना संकलन भइरहेको छ, उनले टेलिफोनमा भने, ‘सबैको चेकजाँच सक्न पर्सिसम्म लाग्न सक्छ ।

गाउँपालिकामा दुई सय ५० भन्दा बढी बिरामी परेका छन् । सोमबारदेखि टोलीले प्रत्येक वडामा पुगेर बिरामी जाँच्ने गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।

मुगुको रातापानीबाट डाक्टर नन्द तिमिल्सिना नेतृत्वको टोली पनि रोग प्रभावित स्थान ताँजाकोटमा खटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा स्वाइन फ्लु फैलिएको हुन सक्ने अनुमान गरेको छ ।

जुम्लाबाट विशेषज्ञ डाक्टर पठाइने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ डाक्टर सहितको टोली हुम्लामा पठाउने भएको छ । रुघाखोकीको प्रकोप रोक्न टोली पठाउने तयारी भइरहेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

यसका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरिने पनि उनले बताए । प्रतिष्ठानले प्रदेशभरी नै स्वास्थ्य सेवा दिइरहेको बताउँदै काफ्लेले महामारी फैलिएको ठाउँमा यसअघि पनि आकस्मिक रुपमा औषधि र विशेषज्ञ डाक्टर पठाउने गरेको जानकारी दिए ।

जनतालाई औषधि पुर्‍याउन हेलिकोप्टर उडाउन २० दिन लाग्छ, तर मन्त्रीहरू गोरु जुधाएको हेर्न पनि हेलिकोप्टर चढ्छन्

गृहमन्त्री हेटौँडा पनि हेलिकोप्टरमा गए
गृहमन्त्री रामबहादुर थापा काठमाडौंबाहिर हुने अधिकांश कार्यक्रममा हेलिकोप्टर चढेरै पुग्छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सातै प्रदेशका राजधानी उनी हेलिकोप्टरमा गए । हेटौँडा पनि उनी हेलिकोप्टरबाटै गए ।

पछिल्लोपटक आइतबार मात्रै उनी सेनाको हेलिकोप्टर चढेर जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन गर्न पुगे । त्यहाँबाट इलामको पशुपतिनगर पुगेर अध्यागमन कार्यालयको उद्घाटन गरेर काठमाडौं फर्किएका छन् ।

क्रिकेट पिचमा रक्षामन्त्रीको हेलिकोप्टर
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल गत १७ कात्तिकमा सेनाको हेलिकोप्टर चढेर नेकपा बाराको कार्यालय उद्घाटन गर्न पुगे । उनको हेलिकोप्टर ल्यान्ड गर्न कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा चलिरहेको जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका दुई खेल नै रद्द गर्न लगाइयो । पिच भत्किएकोले दसैँअगाडि नै सकिनुपर्ने प्रतियोगिता स्थगित भयो, फाइनल खेल दसैँपछि खेलाउनुपर्‍यो ।

गोरु जुधाएको हेर्न कृषिमन्त्री हेलिकोप्टरमा
कृषिमन्त्री चक्रपाणि खनाल गत १ माघमा धादिङको नीलकण्ठ नगरपालिका खाल्टे फ्याक्सेमा भएको गोरुजुधाइ कार्यक्रम हेर्न हेलिकोप्टर चढेर गए । र ,केहीबेर सम्बोधन गरेर काठमाडौं फर्किए । जब कि, त्यहाँ पुग्न काठमाडौंबाट गाडीमा तीन घन्टा मात्रै लाग्छ । (आजको नयाँ पत्रिकामा)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.