पाल्पा लोक आइडलमा धनमाया

रिपोर्ट नेपाल | 2018 Nov 25 | 11:59 am 1707

पाल्पा, मंसिर ९ : लुम्बिनी अञ्चलको पर्यटकीय नगरी तानसेनमा रहेको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ कार्यक्रममा धनमाया दिसुवाले बाजी मारेकी छन् ।

मंसिर ८ गते साँझ सम्पन्न भएको कार्यक्रममा पाल्पा आइडल भएकी धनमाया दिसुवा नगद एक लाख र प्रमाणपत्रद्वारा सम्मानित भएकी छिन् । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनअपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल भएका थिए । ‘पाल्पा लोक आइडल’मा बगनासकालिकाका नैना परियार, रम्भा गाउँपालिकाका ओमप्रकाश सिञ्जाली र कमल नेपाली, रामपुरका दिलीप मानन्धर र निस्दी गाउँपालिकाकी धनमाया दिसुवा बीच प्रतिस्पर्धा भएको थियो ।

जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १३८ प्रतिस्पर्धी छनौटमा हुँदै पाँच जनाबीच अन्तिम राउण्डमा प्रतिस्पर्धा भएको अयोजकले जनाएको छ ।
कार्यक्रममा राजनीतिक वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले स्थानीय कला, लोकसंस्कृतिको जगेर्नाका लागि सबैले चासो दिनुपर्ने बताएका थिए । पश्चिमी संस्कृतिका कारण नेपाली संस्कृति हराउँदै गएकाले नेपाली लोकसंस्कृतिको संरक्षण आवश्यक रहेको उनका भनाई रहेको थियो ।

कार्यक्रममा ५ नं प्रदेशका सांसद डा पुरन बज्रचार्य, वीरबहादुर राना, नेकपाका खिमान्द्र पाण्डेय, नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर सारु, पाल्पाका प्रजिअ मनोहरप्रसाद खनालले हराउँदै गएको लोकसंस्कृति संरक्षणका लागि लोक आइडल प्रतियोगिता आवश्यक रहेको विचार व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.