पारवहन लागत घट्दा उपभोक्तालाई पनि फाइदा

रिपोर्ट नेपाल | 2021 Sep 17 | 08:50 am 1029

काठमाडाैं, असाेज १ः पहिलोपटक भारतीय निजी कम्पनीले नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानी सेवा सुरु गरेको छ । नेपाली आयातकर्ताहरुको मागअनुसार भारतीय रेलवे सेवाको सम्झौतामा संशोधनपश्चात पहिलो पटक निजी कम्पनीको रेलसेवा सुरु भएको हो । सन् २००४ मा नेपाल र भारतबीच भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाईमात्रै एकाधिकार दिएको थियो ।

तीन महिनाअघि मात्रै नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधन गरेर भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेपछि पहिलोपटक भारतीय निजी रेल कम्पनी नेपाल प्रवेश गरेको हो । भारतको हल्दिया बन्दरगाहबाट हिन्द टर्मिनल प्रालिको रेल ९० वटा कन्टेनर लिएर वीरगन्जस्थित सुक्खा बन्दरगाहमा बुधबार आइपुगेपछि यसले नेपाल भारतबीच पारवहनका क्षेत्रमा नयाँ आयाम थपेको छ । हिन्द टर्मिनल दुबईको सर्राफ ग्रुपद्वारा भारतमा सञ्चालित कम्पनी हो ।

स्वीट्जरल्याण्डबाट आयातीत खाद्यवस्तु लोड भएको कन्टेनर लिएर २८ भदौमा हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधबार बिहान नेपालको सिर्सियास्थित सुक्खा बन्दरगाहमा प्रवेश गरेको हो । निजी कम्पनीमार्फत सुरु भएको पारवहन सेवाले नेपालको वैदेशिक व्यापारका लागि सहजीकरण हुने मात्र नभई लागत मूल्यमा पनि प्रतिस्पर्धा हुने देखिएको छ । भारतीय निजी कम्पनीको रेल कम्पनीले नेपालमा सेवा प्रवेश गर्दा कार्गो ढुवानी सेवा प्रतिस्पर्धी हुने तथा नेपाली पारवहन लागत र समय घट्ने भएका कारण नै नेपाली व्यवसायीले पनि धेरै अगाडिदेखि भारतीय निजी रेल सेवालाई नेपालमा ढुवानी गर्न दिन माग गरेका हुन् ।

भारतीय निजी कम्पनीको रेलसेवा सुरु भएपछि कार्गो ढुवानीमा पनि वृद्धि हुने आँकलन छ । जसका कारण सुक्खा बन्दरगाहमा स्थान अभाव हुनसक्ने भएकोले विश्व बैंकको ऋण सहयोगमा सुक्खा बन्दरगाहभित्रै ४० करोडको लागतमा कन्टेनर यार्ड निर्माण भइरहेको छ । यससँगै एकीकृत भन्सार जाँचचौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) बीचको ६२ बिगा जग्गा अधिग्रहणको प्रक्रिया छिटो टुंग्याउन सके यसले स्थान अभावको समस्या चाँडै हल गर्न मद्दत गर्छ । साथै, निजी कम्पनीको रेलसेवा सुरु भएपछि कार्गो आयातको चाप बढ्ने भएकोले नेपाली आयातकर्ताहरुको सामान समयमा अनलोड नहोला कि भन्ने समस्या पनि छ ।

तसर्थ, सुक्खा बन्दरगाह कन्टेनर सञ्चालनको ठेकेदार कम्पनीले पनि कार्गो व्यवस्थापन पूर्ण क्षमता तथा दक्षताका साथ गर्नुपर्ने हुन्छ । कन्टेनर लोड–अनलोड गर्ने यन्त्र हाल चारवटा सञ्चालनमा रहेकोमा इन्टरमोडल यातायात विकास समितिले दिएको दुईवटा यन्त्र थप उपलब्ध गराउने आश्वासन छिटो कार्यान्वयन हुन पनि आवश्यक छ ।

एकाधिकार हुँदा प्रतिस्पर्धाको अभावमा नेपाली व्यापारीको ढुवानी लागत महँगो भएको गुनासो अब समाधान भएको छ । निजी रेल सेवाको प्रवेशले ढुवानी लागत घट्छ । तर, यसको प्रतिफल उपभोक्तासम्म पनि पुग्नुपर्छ । त्यसैले दुवै मुलुकका सरकारले व्यवसायीको मागको सुनुवाइ गरेका हुन् । निजी रेल सेवाप्रदायकको प्रवेशले नेपालमा रेलवेमार्फत मालसामान ढुवानीमा हँुदै आएको एकाधिकार तोडिएपछि यसबाट नेपाली आयातकर्ताहरुले पाउने फाइदा उपभोक्तासम्म पुग्नुपर्छ ।

किनकि नेपालको कार्गो ढुवानीमा भारतीय निजी रेल कम्पनीको प्रवेशले नेपाली आयातकर्ताहरुलाई विलम्ब शुल्कको नाममा तिर्नुपरेको रकम पनि बचत हुने र ढुवानी सेवा पनि सहज हुन्छ । त्यसैले हिन्द टर्मिनल्सको नेपालमा कार्गो सेवाको प्रवेशले ढुवानी सेवा प्रतिस्पर्धी हुने बाटो खुल्नुलाई सकारात्मक रुपमा लिनुपर्छ । प्रतिस्पर्धी बजारमा आयातकर्ताले सस्तोमा कार्गो ढुवानी गर्न पाउने, पारवहन सेवामा लाग्ने समयको बचत हुने, विलम्ब शुल्क बचत हुने तथा निर्यातमा पनि सहजता भएको छ ।

यसका साथै हिन्द टर्मिनल्स र कोन्कर बाहेक भारतीय अन्य निजी रेल कम्पनीले पनि नेपालतर्फको ढुवानीमा रुची देखाएका छन् । यसरी बजारमा धेरै खेलाडी आएपछि फाइदा त हुन्छ नै तर, यो फाइदा उपभोक्तासम्म पुग्नुपर्छ भन्ने मान्यता हो । तसर्थ, सेवा प्रदायकको प्रतिस्पर्धाको फाइदाको वितरण न्यायोचित हुनुपर्छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.