पाँच प्रतिवेदन र आठ विधेयक प्रतिनिधिसभामा प्रस्तुत

रिपोर्ट नेपाल | 2019 May 20 | 03:14 pm 1072

काठमाडौं, जेठ  ६ : प्रतिनिधिसभाको आज बसेको बैठकमा पाँच प्रतिवेदन र आठ विधेयक प्रस्तुत भएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदन २०७५, नेपाल सरकारको आर्थिक वर्ष २०७४–०७५ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेको काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७४–०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष २०७६–०७७ को पूर्व बजेट छलफल कार्यक्रमसम्बन्धी प्रतिवेदन २०७६ पेश गरेका छन् ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७५–०७६ पेश गरेकी छन् ।

त्यसैगरी विभिन्न ८ वटा विधेयक पनि बैठकमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गरे ।

यता गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन र औद्योगिक व्यवसाय विधेयक बैठकमा प्रस्तुत गरेका छन् ।

बैठकमा वनमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी आठौँ संशोधन विधेयक २०७५ प्रस्तुत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.