पर्सा, साउन १९ः पछिल्लो समय पर्सामा कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको छ । वीरगन्जमा कोरोना संक्रमणका कारण पछिल्ला दुई दिनमा पाँच जनाको मृत्यु भएको छ ।
बिहीबार वीरगन्ज महानगरपालिका–१६ का ३५ वर्षीय युवक, वीरगन्जको जगदम्बा इन्टरप्राइजेजका सीईओ ५६ वर्षीय पुरुष र वीरगन्ज–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।
बुधबार पनि वीरगन्जमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । साउनमा मात्रै वीरगन्जमा १० जना संक्रमितको मृत्यु भइसकेको छ । बिहीबार पर्साका ४१ जनामा संक्रमण भेटिएकोमा ३७ जना वीरगन्जकै स्थानीय भएको बताइएको छ । बुधबार पनि ८४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
कोभिड अस्पतालमा अहिले भर्ना रहेका ६२ मध्ये ४ संक्रमितको अवस्था गम्भीर रहेकाले आईसीयूमा उपचारमा भइरहेको अस्पतालले जनाएको छ ।
यही असार अन्तिममा संक्रमित निको हुँदै घर फर्किन थालेपछि कोभिड अस्पतालमा दुई जना मात्रै संक्रमित बाँकी रहेका थिए । तर साउन सुरु भएलगत्तै पर्सामा संक्रमितको संख्या थपिँदै गएको छ ।
दिनहुँ संक्रमित थपिँदै गएपछि समुदायमै संक्रमण फैलिएको भन्दै वीरगन्जमा साउन १० देखि अनिश्चित्कालीन निषेधाज्ञा लगाइएको छ र सोमबारबाट जिल्लाभर निषेधाज्ञा जारी गर्ने स्थानीय प्रशासनले जानकारी गराइसकेको छ । नेपाल समाचारपत्रबाट