पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा शुभारम्भ

| 2021 Dec 18 | 03:08 pm 1149

धनगढी, पुस ३ः सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ शनिबारदेखि सुरु भएको छ । साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमकाबीच उदघाटन गरे ।

सो क्रममा उनले सुदूरपश्चिम प्रदेशमा प्राकृतिक, धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल थुप्रै रहेकाले त्यसको प्रवर्द्धनमा लाग्नुपर्ने बताए । यस्ता पर्यटकीयस्थलको प्रचारप्रसार गर्न र आवश्यक भौतिक संरचना निर्माणका लागि प्रदेश सरकार अगाडि बढेको पनि उनले चर्चा गरे।

उदघाटनको क्रममा मुख्यमन्त्री भट्ट र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले साइकल चलाएर उदघाटन गरे । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फारवेष्ट राइडर्स क्लबको सहकार्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साइकल यात्राको आयोजना गरेको हो ।

यात्रामा नेपाल, भारतका साइकलयात्रीको सहभागिता रहेको छ । ‘भारतको गाजियावाद, नैनीताल, बरेली, विहार र नेपालको काठमाडौं, चितवन, नवलपरासी, कैलाली, कञ्चनपुरका राइडरहरुको सहभागिता छ’, फारवेष्ट राइडर्स क्लबका अध्यक्ष भरतविक्रम शाहले बताए ।

पुस ५ गतेसम्म सञ्चालन हुने साइकल यात्राको धनगढी–गोदावरी हुँदै डोटीको बुडरसम्म पुग्ने आयोजक उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले जनाएको छ । यात्राको अन्तिम दिन बुडरमा साइकल रेस प्रतियोगितासमेत सञ्चालन गरिने बताइएको छ ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्म पाँच किलोमिटर दूरी पार गर्न हुने प्रतियोगिताको बिजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपियाँ प्रदान गरिने मन्त्रालयका पर्यटन विकास कार्यक्रम इकाईका निमित्त प्रमुख भोजराज पाठकले बताए । यात्रामा करिब डेढ सय साइकल यात्रीहरुको सहभागिता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.