पदमा पुगेपछि मानिस एक्लो बन्छ

| 2019 Nov 20 | 08:25 am 1773

■ बबिता बस्नेत

पदमा पुगेपछि मानिस एक्लो बन्छ भन्ने कुरा कतिपयलाई सही नलाग्न पनि सक्छ । बिहान उज्यालो भएदेखि भेट्नका लागि निवासमा मानिसहरूको भिड, भेटघाटकै लागि कार्यालय पुगेको भिड, यात्रा गर्दा फूलमाला लिएर आफूलाई स्वागत गर्न उभिएका मानिसको लाम र गलामा मालाको चाङ देख्दै आएका हाम्रा लागि पदमा पुगेको मान्छे एक्लो हुन्छ या हुन सक्छ भन्ने कुरा बिश्वास नलाग्नु स्वाभाविकै पनि हो ।

उच्चपदस्थ व्यक्तिहरू, विशेषगरी राजनीति गर्ने नेताहरू, मन्त्रीहरू मात्र नभएर विभिन्न सार्वजनिक जिम्मेवारी लिएका मानिसहरूलाई बाहिर हेर्दा जति तामझामपूर्ण देखिन्छ, भित्र त्यति नै सुनसान जीवन बाँचिरहेका हुन्छन् । सार्वजनिक रूपमा जति माथिल्लो ओहोदामा पुग्यो, व्यक्तिगत रूपमा मानिस त्यति नै एक्लो बन्दै जान्छ । बाहिर हेर्दा संसारै आफ्नोजस्तो देखिए पनि आफ्ना कुरा सेयर गर्ने विश्वासिलो मान्छे हुँदैन । आफूले गर्न सकुन्जेल मानिसहरू वरिपरि झुम्मिन्छन्, गर्न नसकेको दिनदेखि विगतमा गरेका सबै कुरा बिर्सिएर आलोचना गर्न थाल्छन् । समयक्रममा कतिपयको जिन्दगीमा त यस्तो समय आउँछ कि फर्किएर हेर्दा आफूबाहेक कोही पनि आफ्नो हुँदैन, आफ्नो लाग्दैन ।

यही ०७६ साल कात्तिक २४ गते सञ्चारिका समूहको कार्यक्रममा प्रदेश ५ की कृषिमन्त्री आरती पौडेलले चुनाव जितेपछि मानिस एक्लो बन्दोरहेछ भन्नुभएको थियो । यसका पछाडि उहाँको आफ्नै अनुभव साक्षी होला । सार्वजनिक जीवन र पदले मानिसको सार्वजनिक संसार फराकिलो र व्यक्तिगत संसार साँघुरो बनाइदिन्छ । बाहिर हेर्दा संसारै आफ्नोजस्तो तर आफूवरिपरि आफ्नैहरू पराईजस्तो । बाहिरका मान्छेको काममा समय जाने हुँदा परिवारका सदस्यहरू टाढिँदै जाने, नजिककाले हामीलाई के गरेको छ र ? भनेझैँ गर्ने, टाढाकाले जति गरे पनि यो त यसको कामै हो नि, यसले नगरेर कसले गर्छ झैँ ठानिदिने । कतिले व्यक्त गर्लान् कतिले नगर्लान्, तर सार्वजनिक जीवनमा भएका अधिकांश मानिस बाहिर भिडभाड र भित्र एक्लो जीवन बाँचिरहेका हुन्छन् ।

कतिले व्यक्त गर्लान् कतिले नगर्लान्, तर सार्वजनिक जीवनमा भएका अधिकांश मानिस बाहिर भिडभाड र भित्र एक्लो जीवन बाँचिरहेका हुन्छन् ।

हामीकहाँ राजनीतिक मानिसहरूको वरिपरि भिडभाड देख्दा उनीहरूले कामचाहिँ कसरी गर्छन्, कहिले गर्छन् ? जस्तो लाग्छ । मन्त्रीहरूलाई नै हेरौँ, बिहानदेखि निवासमा मानिसको भिड लाग्छ । जुरुक्क उठेपछि पहिलो काम मान्छे भेट्ने । आफूलाई भेट्नका लागि मानिसहरू पर्खिरहेका छन् भन्ने भएपछि योग, ध्यान, लेखपढ, चिन्तनमनन गरेर बस्ने कुरा पनि आएन । खाना खाएर हिँडेपछि कि त मन्त्रालय जाने हो कि त कुनै कार्यक्रममा । कार्यक्रम या मिटिङमा मान्छेको निश्चित, अनिश्चित सङ्ख्या हुनु स्वाभाविक भए पनि हामीकहाँ त कार्यालयमा पनि मानिसहरू लाम लागिरहेका हुन्छन् ।

मन्त्रालयहरू कार्यकर्ता भेट्ने थलो नभएर राज्यको काम गर्ने स्थान हुन्, तर मन्त्रालयमा पनि कार्यकर्ताको भिड लागिरहेको हुन्छ । अचम्म त के छ भने जो मानिस बिहान निवासमा देखिएका, भेटिएका थिए, तिनै मानिसहरू मन्त्रालय पनि पुगिरहेका हुन्छन् । आँखाअगाडि देखापरे मात्रै मूल्याङ्कनमा परिने परिपाटीका कारण मानिसहरू आफूले पाएको जिम्मेवारी निर्वाह गर्न छोडेर नेताको आँखाअगाडि पुगेका हुन् । यदि जिल्ला कमिटी, इलाका कमिटी या कुनै कार्यालय यस्तै जे–जे स्थान छन् त्यहाँ रहेका मानिसको मूल्याङ्कन कामको आधारमा हुने हो भने ऊ सिंहदरबार या पुल्चोक धाउन छाडेर आफ्नै काम गरेर बस्थ्यो ।

यस्तै कुन सांसदले कस्तो काम गरेको छ या कतिसम्म गर्न सक्छ भन्ने कुराको मूल्याङ्कन गर्ने प्रणालीको विकास हुँदो हो त मन्त्रिमण्डल पुनर्गठन हुने हल्लासँगै प्रधानमन्त्रीकहाँ सांसदहरूको लाम लाग्ने थिएन । अनुहार देखाएन भने बिर्सने, वास्ता नगर्ने मात्र नभएर मेरो मान्छे होइन कि क्या हो भनी शङ्का नै गरिदिने प्रवृत्तिका कारण सांसदहरूको लाम प्रधानमन्त्रीकहाँ लाग्नुपर्ने अवस्था छ । कसलाई के जिम्मेवारी दिँदा उसले कुशलतापूर्वक गर्न सक्छ भन्ने भन्दा पनि ‘को कसको मान्छे’ भन्ने कुरा प्रमुख योग्यता बनिदिँदा साना नेताहरूले ठूला नेताहरूको छत्रछाया खोज्दै भिडभाडमा सहभागी हुन पुग्नुपर्ने अवस्था छ ।

नेताहरूले दिनभरि कसकसलाई भेटे र किन भेटे भन्ने कुराको विवरण राखेर भेटघाटलाई व्यवस्थित बनाउने हो भने अहिलेको जस्तो जतिबेला पनि मान्छे भेट्ने काममा समय खर्चिनुपर्दैन । पदस्थहरूले जति मानिसलाई भेट्छन् र तिनका कुरा सुन्छन् ती केहीछिनपछि बिर्सन्छन् । सुनुन्जेल महत्वपूर्णझैँ लागेका कुरा अर्को झन् त्योभन्दा महत्वपूर्ण जस्तो लागेपछि बिर्सिइन्छ । डकुमेन्टेट नहुँदा मानिस र उसको काम दुवै दोहोरिन्छन् । हाम्रा राजनीतिकर्मीहरूले आफूले सम्हालेको पद र स्थानमा प्रणाली बसाउन आवश्यक छ । मन्त्रालय पुगी–पुगी बधाई किन दिनुपऱ्यो ? हिजोआज यत्तिका सञ्चारका साधन छन्, जेबाट भए पनि दिए भइहाल्यो । कोही मन्त्री भएकोमा मनमा खुशी होस् कि नहोस् खादा–माला ओडाउन किन जानुप¥यो ? मन्त्री भयो, काम गरे भइहाल्यो । मन्त्री भएको कति दिनसम्म खादा, माला, स्वागत अनि कामचाहिँ कतिबेला गर्ने ?

आँखाअगाडि देखापरे मात्रै मूल्याङ्कनमा परिने परिपाटीका कारण मानिसहरू आफूले पाएको जिम्मेवारी निर्वाह गर्न छोडेर नेताको आँखाअगाडि पुगेका हुन् ।

यो सब कसले गरिराछ भनेर हेर्दा आफ्नै कार्यकर्ताले । जानेलाई मनमा जे भए पनि देखाउन जानैपर्ने, ग्रहण गर्नेलाई पनि ‘सम्मान गर्न आएकालाई कसरी नआउ भन्नु’ को बाध्यता । मन्त्री या राज्यका कुनै पनि उच्च पदमा आसीन भइसकेपछि उसले सम्मान पाइसक्यो, थप सम्मान राम्रो काम गरेपछि गर्ने हो । जो पदमा पुग्छ उसैलाई सम्मान गर्ने र ओह्रालो लागेपछि अपमान गर्ने हाम्रो प्रचलनलाई अब बदल्नुपर्छ । आफूलाई फूलमाला लगाएर सम्मान गर्न आएको समूहकै मान्छेले कसैले माला लगाइदिँदै गरेको फोटो गलत मनसाय झल्कने गरी खिचेर पब्लिक पोस्टमा राख्छ भने त्यस्ता मान्छेले गरेको सम्मानलाई कसरी सम्मान भन्ने ? योगेश भट्टराई मन्त्री हुँदा त्यस्तै प्रकारको फोटोलाई भाइरल बनाइएको थियो ।

आफूले पाएको पदलाई नै सम्मान ठानेर उक्त पदप्रतिको उत्तरदायित्व निर्वाह गर्ने हो भने थप सम्मानका लागि आफूवरिपरिका मानिसको खादा–माला आवश्यक पर्दैन । आफ्ना पार्टीका हुन् या नहुन् सबैले स्वतः सम्मान गर्छन् । कतिपय अनावश्यक तामझामका लागि नेतृत्वमा पुगेकाहरूले ‘नो’ भन्न सक्नुपर्छ । आफूले सिस्टम बसाएपछि ‘एस’ या ‘नो’ दुवैले काम पनि गर्छ । सार्वजनिक ओहोदामा भएका मानिसले जे कुरामा पनि ‘हुन्छ’ भनिदिँदा मानिसले उच्चपदस्थहरूले भनेको ‘हुन्छ, भइहाल्छ’ जस्ता कुरालाई पत्याउनै छोडिसके ।

नेताहरू पनि मान्छे हुन्, उनीहरूलाई पनि आराम, विश्राम र आफ्नो स्पेस चाहिन्छ भनेर भिड निम्त्याउनेहरूले पनि शायद बुझ्नुपर्छ । तर, यो बुझ्ने वातावरण कार्यकर्ताले होइन, नेता आफैँले बनाउने हो । कुनै पनि क्षेत्रमा रहेका मानिसले आफ्नो कार्यकालमा प्रणाली स्थापित गर्न सक्यो भने सबैको अपेक्षाका कारण आफूलाई एक्लो महसुुस गरे पनि आत्मसन्तुष्टि हुन्छ । यस्तो सिस्टम जसले आफू भोलि यो संसारमा नरहँदा पनि राम्रो काम भने भई नै रहन्छ । जीवनमा आत्मसन्तुष्टि ठूलो कुरा हो । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.