नागरिकतासहित उपस्थित हुन प्रचण्ड–नेपाल समूहको सर्कुलर

| 2021 Mar 02 | 07:19 am 1749

काठमाडौँ फागुन १८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछिको रणनीति बनाउन नेकपा प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठनको गृहकार्यमा रहेको प्रचण्ड–नेपाल समूहले आफ्ना केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिएको हो ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा फागुन १९ गतेका लागि बोलाइएको छ । बैठकले सक्कल नागरिकता र पार्टीको परिचय–पत्रसहित अनिवार्य उपस्थित हुन निर्देशन दिने निर्णय गरेको छ । त्यसै गरी आज (मंगलबार) पार्टी स्थायी समितिको बैठक पनि बोलाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐनअनुरुप छिट्टै निर्णय गर्नका निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको बताए ।प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीच सांसद र केन्द्रीय सदस्य तानातानको अवस्था कायमै रहेको छ । नेकपाभित्र आधाकारिकताको विवाद टुंगो लाग्न नसकिरहेको बेला फागुन २३ गते संसद् बैठक बोलाइएको छ । प्रचण्ड नेपाल पक्षले आफूहरुसँग केन्द्रीय समिति र संसदीय दल दुवैमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ ।

यसअघि ७ फागुनमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थियो । संसद् पुनःस्थापना भएपछि भने पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । आजको नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.