धम्की दिँदै रकम असुल गर्ने दमाई हतियारसहित प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2020 Jan 02 | 09:25 am 1268

दाङ, पुस १७ः धम्की दिँदै रकम असुल गरेको अवस्थामा प्रहरीले एक जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाका राजकुमार दमाई रहेका छन् । उनलाई दाङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।

रोल्पाको परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय दमाईले एकसाता अघि घोराही उपमहानगरपालिका–१५ विपि चोकका ४८ वर्षीय एक ब्यक्तिलाई धम्क्याई १३ लाख रुपैयाँ मागेका बुझिएको छ ।

उजुरी परेपछि प्रहरीले नक्कली रुपैयाँका साथ पीडितलाई दमाईसँग भेट्न पठाएको थियो।

उक्त नक्कली रुपैयाँ बुझ्दै गर्दा दमाईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार बेलुकी पक्राउ गरेको हो।

दमाईका साथमा एक थान कटुवा पेस्तोल र एउटा गोली समेत फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दमाईमाथि जिल्ला प्रहरीका कार्यालयमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.