तीन थान भरूवा बन्दुकसहित एक जना पक्राउ

| 2022 Jan 14 | 05:18 pm 881

मोरङ, पुस ३०ः मिक्लाजुङ गाउँपालिका-५ बस्ने ६० वर्षीय ईन्द्र बहादुर राईलाई ३ थान भरुवा बन्दुक, २ डब्बा बारुद, १८ थान गोली, ५ पोका छर्रा, १ थान खुकुरी र १ थान गुलेली सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका-९ बशन्त हरियाली सामुदायिक वनमा उनी समेत ४ जना व्यक्तिहरूले उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  हाल फरार रहेका नाम, थर, वतन नखुलेका अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित २ जना पक्राउ

सर्लाही, मलंगवा नगरपालिका-८ लच्काबाट भारत सितामढी सोनबर्षा ग्राम-९ बस्ने ३२ वर्षीय अजय कुमार महतोलाई ७५ पिस नियन्त्रित लागूऔषध नाईट्राभेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको   हो ।

बर्दिया, बढैयाताल नगरपालिका-८ इँटाभट्टा नजिकबाट गुलरिया नगरपालिका-४ तुलापुर बस्ने २० वर्षीय बिपिन सुनारलाई करिब ३ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भे.९ प ७६६९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.