डेंगु नियन्त्रणका लागि ८० लाख विनियोजन

रिपोर्ट नेपाल | 2019 Jun 14 | 02:57 pm 1380

सुनसरी, जेठ ३१ : प्रदेश सरकारले संक्रमणको रुप लिएको डेंगुको प्रकोप नियन्त्रण र उपचारका लागि ८० लाख बजेट छुट्याएको छ ।

प्रदेश सरकारले एक साताभित्रमा डेङ्गु नियन्त्रण गर्ने योजना अघि सारेको छ । तीन तहका सरकारबीच समन्वय नभएको भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डेंगु नियन्त्रण अभियान थाल्ने भएका छन् । यसका लागि प्रदेश सरकारले सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

यसैगरी तीन जिल्लाका स्थानीय तहलाई समेत डेंगु नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्रराज डोटेलले एक साताभित्र डेंगु नियन्त्रणको कार्ययोजना पेस गरेका थिए ।

निर्देशक डोटेलले प्रस्तुत गरेको कार्ययोजनामा प्रजिअको समन्वयमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, उद्योग वाणिज्य, नगरपालिका, जनपथ, सशस्त्र र स्थानीय समुदाय समेतको सहभागितामा जिल्लास्तरीय समन्वय बैठक गरेर जिम्मेवारी दिइने उल्लेख छ ।

डेंगु प्रभावित क्षेत्रको सामाजिक नक्साङ्कन गरेर ८ देखि १० जनाको समूह बनाउने र प्रत्येक समूहलाई क्षेत्र छुट्याएर लामखुट्टेको लार्भा नष्ट गर्नका लागि परिचालन गरिने डोटेलले बताएका छन् ।

‘एउटा समूहलाई झण्डै सय घर जिम्मा दिने र हरेक समूहले आफूलाई तोकिएको क्षेत्रभित्रको प्रत्येक घरमा पुगेर लार्भा खोजी गरेर नष्ट गर्ने योजना बनाइएको डोटेलले बताए । यसैगरी विद्यालय र क्याम्पसमा समेत डेंगु सचेतनाको विषयमा शिक्षा दिने योजना बनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.