ठगहरू पनि सधैँ झुट बोल्दैनन्, किन ?

रिपोर्ट नेपाल | 2020 Feb 19 | 08:09 am 1249

■ देवप्रकाश त्रिपाठी

हरेक ठग सधैँ झुट बोल्दैनन्, यदाकदा उनीहरू सत्य पनि बोल्ने गर्दछन् । खासगरी आफूलाई कुनै न कुनै प्रकारले लाभ पुग्छ भन्ने पूर्ण विश्वास भएमा उनीहरू सत्य पनि बोल्ने गर्दछन् । ठगीको मात्र क्षमता भएका मानिसले समेत सत्य बोलेका हुन्छन् भने प्रचण्डले झन् कहिल्यै सत्य बोल्दै नबोल्ने भन्ने कथ्य स्वीकार गर्न सकिँदैन ।

एकाध वर्षमा सत्यसमेत बोल्नुहुने ‘माओवादी’ नेता प्रचण्डले यो सालको फागुन शुरु भएकै दिन एउटा सत्य प्रकट गर्नुभयो, निकै भावुक भएर उहाँ सत्य बोल्दै हुनुहुन्थ्यो । प्रचण्डले हजार झुट बोल्दा पत्याएर चुपचाप बस्दै आएको काङ्ग्रेसले पहिलोपल्ट लिखित रूपले नै प्रचण्ड वचनको खण्डन गऱ्यो । निकै लामो अन्तरालमा प्रचण्डले सत्य बोल्नुभयो, काङ्ग्रेसले खण्डन पनि यसैपटक गरिदियो । प्रचण्डले किन सत्य बोल्नुभयो, ‘एमाले’लाई सम्पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन अनेक ढङ्गले सक्रिय रहेकै समयमा प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूबीचको सम्बन्ध किन उजागर गर्नुभयो, के गिरिजाले प्रचण्डलाई हिंसाका निम्ति दुरुत्साहित गरेकै थिए, जस्ता अनेक प्रश्नहरू खडा गर्न सकिन्छ । वास्तवमा गिरिजाप्रसाद कोइरालाबाट ‘अलिक ठूलाठूला आक्रमण गर्न र सदरमुकाममै प्रहार गर्न’ आफूले ‘सुझाव’ पाएको जुन प्रचण्डले बताउनुभयो, त्यो शतप्रतिशत सही हो । होइन भन्ने ठान्नु गलत हो ।

गिरिजा सम्पूर्ण रूपले आत्मकेन्द्रित व्यक्ति थिए, किशोरवय शुरु हुनुअघि नै ‘भाइ’ (विश्वबन्धु) लाई पालैपालो साइकिल चढ्न दिनुपर्ने आदेश आफ्ना पिताजीबाट भयो भनेर साइकिल नै भाँचिदिएको घटनाले उनी कुन स्तरका आत्मकेन्द्रित व्यक्ति थिए भन्ने दर्शाउँछ । गिरिजाको आत्मकेन्द्रित स्वभाव पुष्टि गर्ने हजारौं दृष्टान्त छन्, तर गिरिजाप्रसाद मात्र आत्मकेन्द्रित र बाँकी सबै नेता देशकेन्द्रित रहेको भन्नेचाहिँ होइन । र, आफ्नो राजनीतिक स्वार्थका निम्ति माओवादीसँग अपवित्र गठबन्धन बनाउने पनि गिरिजा एक्ला पात्र होइनन् ।

२०५७ सालमा गिरिजाप्रसादविरुद्ध काङ्ग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा शेरबहादुर देउवाले भूमिगत माओवादीसँग जुनस्तरको गठबन्धन बनाउनुभएको थियो त्यसले देउवा पनि आफ्नो निम्ति जेसुकै गर्न तयार रहने व्यक्ति भएको पुष्टि गर्दछ । रोल्पाको होलेरीमा (२०५८) घेराबन्दीमा परेका माओवादी नेताहरूलाई मुक्त गर्न आरजु र शेरबहादुरले जति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो, त्यसको पूर्ण जानकारी पाउने हो भने विचारले काङ्ग्रेसमा आबद्ध भएकाहरूलाई गहिरो पीडा हुन सक्छ । गाउँ–गाउँमा काङ्ग्रेसका कार्यकर्ता माओवादीबाट मारिन्थे, समवेदनाको ‘रेडिमेड वक्तव्यमा नाम, थर, ठेगाना र मिति भरेर सार्वजनिक गर्ने औपचारिकता काङ्ग्रेसले अल्छी नमानीकन पूरा गर्थ्यो, तर भित्रभित्रैचाहिँ नेताहरूको सहकार्य पनि चलिरहन्थ्यो ।

रोल्पाको होलेरीमा (२०५८) घेराबन्दीमा परेका माओवादी नेताहरूलाई मुक्त गर्न आरजु र शेरबहादुरले जति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो, त्यसको पूर्ण जानकारी पाउने हो भने विचारले काङ्ग्रेसमा आबद्ध भएकाहरूलाई गहिरो पीडा हुन सक्छ । गाउँ–गाउँमा काङ्ग्रेसका कार्यकर्ता माओवादीबाट मारिन्थे, समवेदनाको ‘रेडिमेड वक्तव्यमा नाम, थर, ठेगाना र मिति भरेर सार्वजनिक गर्ने औपचारिकता काङ्ग्रेसले अल्छी नमानीकन पूरा गर्थ्यो, तर भित्रभित्रैचाहिँ नेताहरूको सहकार्य पनि चलिरहन्थ्यो ।

गिरिजाप्रसाद कोइराला २०६० सालसम्म पूरै दक्षिणपन्थीजस्ता लाग्थे । २०४६ को परिवर्तनपश्चात् गिरिजाले ‘माले, मसाले र मण्डले भनेका एउटै हुन्’ भनी दिएको सार्वजनिक वक्तव्यले कोइराला खाँटी कम्युनिस्टविरोधी भएको दर्शाएको थियो । तर, बिस्तारै ‘दरबारको दृष्टि बक्र भएपछि उनी ‘दरबार’विरुद्ध खडा हुन पुगे र राजासँग बदला लिएरै छोड्ने अठोटका साथ क्रियाशील भए । २०५९ सालमा शेरबहादुर देउवा पदमुक्त गराएर गिरिजा आफैँ प्रधानमन्त्री बन्न चाहन्थे, दरबारले उनको इच्छा पूरा गरेन । सूर्यबहादुर थापाले राजीनामा दिएपछि २०६१ जेठमा गिरिजा प्रधानमन्त्री बन्न प्रयासरत थिए, त्यसबेला पनि राजाले शेरबहादुरजीलाई बनाइदिए । राजाले स्थायी उपेक्षा गरेको महसूस गरेपछि मात्र राजतन्त्र उन्मूलन नै गर्नुपर्छ भन्ने निचोडमा गिरिजा पुगेका थिए ।

कतिपय मानिसमा प्रजातन्त्रको सुरक्षाका खातिर गिरिजाप्रसाद राजतन्त्र विस्थापनको पक्षमा उभिएको भ्रम हुन सक्छ, यथार्थमा राजाले प्रधानमन्त्री नियुक्त नगरेका कारणले मात्र गिरिजा गणतन्त्रवादी बनेका हुन् । ‘राजा’ रहेसम्म आफूले ‘मौका’ नपाउने ठहर भएपछि गिरिजा माओवादीसँग सहकार्य गर्ने र राजासँग बदला लिने निष्कर्षमा पुगेका थिए । माओवादीहरू त्यसबेला हरेक दल र दरबारभित्र खेल्थे, एउटालाई निकट राखेर अर्को पक्षमाथि प्रहार गर्ने तथा आन्तरिक तनाव र द्वन्द्व सृष्टि गराइदिनेजस्ता कार्यमा राम्रो अनुभव हासिल गरिसकेका माओवादीले पहिले शेरबहादुर देउवालाई लिएर सत्ता–राजनीतिमा खेल्ने गर्दथ्यो, पछि गिरिजालाई पनि आफूअनुकूल प्रयोग गर्न थालेको हो । डा. अमरेशकुमार सिंह, कृष्णप्रसाद सिटौला, र नरहरि आचार्यलगायतका व्यक्तिमार्फत गिरिजा माओवादीको निकट पुगेका थिए ।

२०६२ जेठमा भारतको राजधानी नयाँदिल्लीस्थित एम्बासाडोर होटेलमा गिरिजाप्रसाद कोइरालाद्वारा अभिव्यक्त कतिपय कुराहरूले पनि उनको चरित्र बताउँछ । उनी माओवादी नेताहरूसँग भेटेर होटेलमा फर्कंदै थिए । वामदेव गौतम, कृष्ण सिटौला, डा. शेखर कोइराला, डा. अमरेशकुमार सिंह, सुजाता कोइराला र यो पङ्क्तिकारसहित दर्जनौँ व्यक्ति होटेलमा गिरिजाको प्रतीक्षामा थिए । आफू ‘सुत्ने कोठाबाट भऱ्याङ टाढा भएकोले लामो हिँड्दा श्वास फेर्न गाह्रो भएको’ बताउँदै गिरिजाले ‘लिफ्ट’नजिकको कोठामा बसोवासको व्यवस्था मिलाउन भने । त्यसपछि उनीहरू (माओवादी)सँग भएको वार्ताको विषयमा त्यहाँ उपस्थितिहरूलाई जानकारी गराउँदै गिरिजाले भने थिए, ‘उनीहरू नेपालमै वार्ता गरौँ भन्थे, मैले हुन्न भनेँ । हाम्रो पछाडि ठूलो शक्ति भएको राजाले ठानेनन् भने हामी दुवैथरीलाई सिध्याइदिन्छन्, एउटै बास्केटमा हालेर कुट्छन्, त्यसैले भारतलाई साक्षी राखेर भारतमै वार्ता गर्नुपर्छ भनेको छु, ‘उनीहरू’ले ‘सोच्छौँ’ भनेका छन् ।’ गिरिजाको यो भनाइबाट प्रचण्डहरू नेपालमै वार्ता गर्ने पक्षमा रहेको, तर गिरिजाप्रसादले चाहिँ भारत पुऱ्याएको भन्ने दर्शाउँछ । वास्तवमा माओवादीले गिरिजालाई भुलभुलैयामा राखेका थिए, भारतमै संवाद र सहमति गर्ने कार्यक्रम त्यसअघि नै तय भइसकेको थियो । तर, गिरिजाको चाहनाअनुरूप नयाँदिल्लीमा संवाद र सहमति भएको सन्देश दिन माओवादी सफल भयो ।

कामबासनाले तड्पिएको मानिसले बाँकी संसार नै बिर्सिएझैँ गिरिजाले पनि त्यसबेला राष्ट्रपति पद र नारायणहिटी राजदरबारको सिंहासनबाहेक केही देखेका थिएनन् । आफ्नो सपना पूरा गरिदिने एउटै शक्ति माओवादी हो भन्ने विश्वासमा रहेका गिरिजाले २०६२ जेठदेखि २०६५ असारसम्म माओवादीलाई आफ्नै सहायक दल र प्रचण्डलाई आफ्नो पार्टीका ‘कार्यकर्ता’ ठानेका थिए ।

२०६२ मङ्सिरमा ‘बाह्रबुँदे सम्झौता’ हुनुअघि देखि नै गिरिजाले ‘ठूलाठूला हमलाका निम्ति’ प्रचण्डलाई उचाल्न थालेका थिए । माओवादीले अलिक ठूलो दबाब पैदा गरेपछि राजा सम्झौता गर्न आउँछन् र आफूलाई प्रधानमन्त्री नियुक्त गर्छन् भन्ने विश्वासमा गिरिजाले त्यसरी प्रचण्डलाई दुरुत्साहित गरेको बुझ्न सकिन्छ । यसरी माओवादीमार्फत राजामाथि दबाब पैदा गराउने क्रममा थानकोटस्थित प्रहरी थानामा आक्रमण भएको तथ्य स्मरणीय छ । २०६२/०६३ को आन्दोलन शुरु भएसँगै गिरिजाले माओवादी लडाकुको सङ्ख्या पाँच हजारभन्दा कम रहेको जानकारी पाएपछि उनले प्रचण्डलाई नयाँ भर्ना लिएर लडाकुको सङ्ख्या बढाउन सुझाव दिएका थिए । लडाकुको सङ्ख्या एकतीस हजार पुऱ्याउनुमा गिरिजाको मुख्य हात रहेको तथ्य कहिल्यै भुल्न सकिँदैन ।

२०६३ मा राजाबाट संसद् पुनर्स्थापनाको घोषणा भइसकेपछि लडाकु भर्नालाई तीव्रता दिइएको थियो, किनभने गिरिजाप्रसादमा राजाको त्रास अधिक देखिन्थ्यो । देखाउनका निम्ति भारतको नयाँदिल्लीमा बाह्रबुँदे सम्झौता भनिए पनि माओवादी र त्यतिबेलाका संसद्वादी भनिने दल तथा तिनका प्रमुख मुखिया गिरिजाप्रसाद कोइरालाबीच दुईबुँदे (माओवादीले संसदीय प्रजातन्त्र स्वीकार गर्ने र गिरिजा गणतन्त्रको पक्षमा उभिने) सम्झौता भइसकेपछि मात्र बाह्रबुँदे सम्झौता भएको थियो । राजालाई निलम्बन गरिसकेपछि सङ्घीयता, धर्मनिरपेक्षता, जातीयता र क्षेत्रीयतावादलाई पश्चिमी रणनीतिक योजनामुताबिक माओवादीको आवरणमा नेपाल भित्र्याइएको हो ।

हिंसात्मक युद्धकालमा गिरिजा र शेरबहादुरले पालैपालो माओवादीलाई सहयोग गरेका थिए । पार्टीभित्रको प्रतिस्पर्धामा आफू विजयी बन्न गिरिजा र शेरबहादुरले माओवादीसँग छुट्टाछुट्टै जुनस्तरको सम्बन्ध कायम राखेका थिए, त्यसको जानकारी पाउँदा काङ्ग्रेसका इमानदार कार्यकर्ताले आफू शत्रुको घरमा बास बसेको महसूस अवश्य गर्नेछन् ।

२०६५ सालमा राष्ट्रपतिको निर्वाचन हुनुअघिसम्म गिरिजाप्रसादको पूर्ण भरोसा माओवादीमाथि थियो, उनी प्रचण्डहरूलाई सुशील कोइराला, शैलजा आचार्य, चक्र बाँस्तोला, खुमबहादुर खड्का, शेरबहादुर देउवा र रामचन्द्र पौडेलभन्दा धेरै निकटको ठान्थे र सोहीअनुरूप व्यवहार पनि गर्थे । त्यसताक देशको प्रथम राष्ट्रपति भएर नारायणहिटी दरबारमै बस्ने आकाङ्क्षाको बसिभूत भएका थिए गिरिजा । त्यसैले कहिल्यै चुनाव नलडेका र केवल हिंसात्मक क्रियाकलापमा सामेल भएर आएका विद्रोही जत्थालाई प्रजातान्त्रिक अभ्यासमा रमाइसकेको नेकपा एमालेभन्दा ठूलो सङ्ख्यात्मक हैसियतसहित संसदमा भित्र्याउने कार्य पनि गिरिजाबाट नै भएको हो ।

बदलाको भावना र अति महत्वाकाङ्क्षाजस्ता रोगबाट च्यापिएका गिरिजाप्रसादले बीपी, बीपीको विचार, काङ्ग्रेसको भविष्य र मुलुकको हित स्मरण गरेनन् । कामबासनाले तड्पिएको मानिसले बाँकी संसार नै बिर्सिएझैँ गिरिजाले पनि त्यसबेला राष्ट्रपति पद र नारायणहिटी राजदरबारको सिंहासनबाहेक केही देखेका थिएनन् । आफ्नो सपना पूरा गरिदिने एउटै शक्ति माओवादी हो भन्ने विश्वासमा रहेका गिरिजाले २०६२ जेठदेखि २०६५ असारसम्म माओवादीलाई आफ्नै सहायक दल र प्रचण्डलाई आफ्नो पार्टीका ‘कार्यकर्ता’ ठानेका थिए । गिरिजालाई अघि लगाएर मात्र गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयतामा नेपाललाई लैजान सक्ने ठहरसहित विदेशी शक्तिहरूले माओवादीमार्फत गिरिजालाई रणनीतिक उपयोग गरेका हुन् । तर, गिरिजामा यस्तो जटिल रणनीतिक योजना बुझ्न सक्ने सामर्थ्य थिएन । त्यसैले उनी माओवादीमार्फत राम्रैसँग उपयोग भएका पात्रमध्ये पर्छन् ।

गिरिजाबाट आफूहरूलाई ठूलो सहयोग पुगेका तथ्यहरू प्रचण्डबाट उजागर हुँदा काङ्ग्रेसले रुवाबासी गर्नुपर्दैन । आज गिरिजासँगको गुप्त गठबन्धन उजागर गर्ने प्रचण्डले भोलि आफूसँग भएका गुप्त गठबन्धनका घटना पनि सार्वजनिक गरिदिने त्रास उत्पन्न भएर शेरबहादुर देउवाले गिरिजालाई प्रतिरक्षा गर्न खोजेका हुन सक्छन् । माओवादीको विशेष आग्रहमा होलेरीबाट सेना फिर्ता गराउन देउवाले निर्णायक भूमिका निर्वाह गरेको तथ्य सार्वजनिक हुन बाँकी नै छ । गिरिजाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएपछि माओवादीको सहयोग लिएर देउवाले कसरी गिरिजालाई परास्त गर्ने योजना बनाएका थिए भन्ने कुराको रहस्योद्घाटन पनि भएको छैन र, यस्ता अनेक रहस्य खुल्न बाँकी नै छ । त्यसैले प्रचण्डको अभिव्यक्तिलाई लिएर देउवा नेतृत्वको काङ्ग्रेसले गिरिजाको प्रतीरक्षा गरेको नभई आफ्नै रक्षा गर्न खोजेको भन्न सकिन्छ ।

मृत घडीले समेत चौबीस घण्टामा दुई पटक सही समयको सङ्केत गर्दछ भने प्रचण्ड त इमानदार बन्न बाँकी भए पनि जिउँदोजाग्दो प्राणी हुनुहुन्छ, उहाँले कहिलेकाहीँ सत्य पनि बोल्नुहुन्छ भन्ने यथार्थलाई सबैले स्वीकार गर्दा गल्ती हुने छैन ।

वास्तवमा हिंसात्मक युद्धकालमा गिरिजा र शेरबहादुरले पालैपालो माओवादीलाई सहयोग गरेका थिए । पार्टीभित्रको प्रतिस्पर्धामा आफू विजयी बन्न गिरिजा र शेरबहादुरले माओवादीसँग छुट्टाछुट्टै जुनस्तरको सम्बन्ध कायम राखेका थिए, त्यसको जानकारी पाउँदा काङ्ग्रेसका इमानदार कार्यकर्ताले आफू शत्रुको घरमा बास बसेको महसूस अवश्य गर्नेछन् । जसले आफ्नो ज्यान र धनसम्पत्तिमाथि बार्बरिक दृष्टि लगाएको थियो तिनैसँग आफ्ना नेताले मितेरी नाता कसिलो बनाएको सुन्नुपर्दा काङ्ग्रेस कार्यकर्तालाई पीडा महसूस हुन सक्छ, पत्यार नलाग्न सक्छ, तर सत्य यही हो कि गिरिजा र शेरबहादुर देउवा पालैपालो या आवश्यकताका आधारमा माओवादीबाट प्रयोग–उपयोग हुने गर्दथे । गिरिजा र देउवासँगको सम्पर्क–सम्बन्धपछि प्रचण्डलाई माओ त्से तुङले ‘प्रतिक्रियावादीहरू कागजी बाघ हुन्’ भनेर किन भनेका रहेछन् भन्ने तथ्यबोध भएको हुनुपर्छ ।

देउवा र कोइरालाले कसरी आफ्नै पार्टी र कार्यकर्तालाई धोखा दिएका थिए र, आफ्ना सीमित तर तुच्छ स्वार्थ पूरा गर्न उनीहरू कसरी दुस्मन कित्ताको हितैषी बनेका थिए भन्ने विषयमा इतिहासको एउटा बेग्लै पुस्तक बन्न सक्छ र त्यस्तो पुस्तक निकट भविष्यमै सार्वजनिक हुन लागेको पनि बुझिँदै छ । यहाँ यति मात्र भनौँ– ‘वर्षौँपछि एकपटक प्रचण्डले सही बोल्नुभएको हो र सत्यको खण्डन गरेर काङ्ग्रेस आफूलाई सुधार गर्न किञ्चित तयार नरहेको सङ्केत दिँदै छ । मृत घडीले समेत चौबीस घण्टामा दुई पटक सही समयको सङ्केत गर्दछ भने प्रचण्ड त इमानदार बन्न बाँकी भए पनि जिउँदोजाग्दो प्राणी हुनुहुन्छ, उहाँले कहिलेकाहीँ सत्य पनि बोल्नुहुन्छ भन्ने यथार्थलाई सबैले स्वीकार गर्दा गल्ती हुने छैन ।घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.