ट्याक्सीमा छुटेको पर्स चालकले फर्काए

रिपोर्ट नेपाल | 2021 Apr 17 | 01:03 pm 6461

काठमाडौं, बैशाख ४ः ट्याक्सी चालकमाथी अनेक किसिमको आरोप लागि रहेका बेला एक जना चालकले भने सबै चालक एकै सोचका हुँदैनन् भन्ने प्रमाणित गरिदिएका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार शुक्रबार साँझ गल्फुटारबाट शंखमुलसम्मको यात्रा गरेका वसन्त भुजेलले ट्याक्सीमा खसाएको पर्स र त्यसमा भएको महत्वपूर्ण कागजात भुजेलकै निवासमा ल्याइदिएर सर्लाही स्थायी ठेगाना भएका ४० वर्षीय महेन्द्र मण्डलले इमान्दारीताको परिचय दिएका छन् ।

आफ्नो सानो लोभले कसैको ठूलो हानी गर्दा त्यसले राम्रो नहुने शिक्षा प्राप्त गरेका चालक मण्डलले शनिबार बिहान भुजेलको निवासमा पर्ससहित कागजात ल्याइदिएपछि भुजेल चकित परेका थिए ।

गाडी सफा गर्ने क्रममा पर्स भेटाएपछि चालक मण्डलले भुजेललाई खबर गरी निवासमा ल्याइदिएका थिए । इमान्दारीताको खडेरी परेको मुलुकमा एउटा ट्याक्सी चालकले देखाएको इमान्दारीताको पाठ राष्ट्र हाँक्ने ड्राइभरले सिक्नुपर्ने भुजेलको भनाई रहेको छ । भुजेलको पर्समा एचएसबीसी एडभान्स डेभिड भिसा कार्ड, एटिएम कार्ड, नेशनल इन्सोरेन्स कार्ड, नेपालको सवारी चालक अनुमति पत्र, यूकेको सवारी चालक अनुमति पत्र, मतदाता नामावली लगायत महत्वपूर्ण कागजात थिए । आफ्ना कागजात बुझ्दै भुजेलले जुन व्यक्ति इमान्दार र सच्चा हुन्छ त्यही नै भगवान भएको प्रतिकृया दिए ।

ट्याक्सी चालकका विषयमा आफूले यस अघि सुनेको नकरात्मक कुराको कारण फेला पर्छ भन्ने सपनामा पनि नसोचेको भुजेलको भनाई रहेको छ । चालक महेन्द्र मण्डलले यसरी सामान फर्काएको पहिलो नभएर प्रशस्त उदाहरण छन् ।

उनले एक बिदेशीको प्रोजेक्टर पनि यसै गरी फिर्ता गरेका थिए । विगत १५ वर्ष देखि चालकको काम गर्दै आएका महेन्द्र मण्डलले कसैको कुभलो नसोचे भगवानले हेर्ने विश्वास व्यक्त गर्छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.