चन्द नेतृत्वको नेकपाले मानवअधिकारवादी गुहार्‍याे

रिपोर्ट नेपाल | 2019 Mar 12 | 11:37 am 1393

कास्की, फागुन २८ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी कार्यकर्ताको नाममा सर्वसाधारण जनतालाई गिरफ्तार गरी आफन्त र मानवअधिकारवादीलाई समेत भेटघाट गर्न नदिएकोमा आपत्ति जनाएको छ ।

उक्त पार्टीद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार सर्वसाधारणलाई गिरफ्तार गर्दासमेत मानव अधिकारवादी संस्थाहरु मौन बसेकोमा मानवअधिकारवादी संघ संस्थाहरुलाई बन्दीको अवस्थाबारे जानकारी लिन र सत्य तथ्य बाहिर ल्याउन अनुरोध गरेको छ ।

सो पार्टीका कास्की इन्चार्ज रुपेशले एक प्रेस बिज्ञप्ति जारी गर्दै मानव अधिकारवादी संघ संस्थासंग यस्तो अनुरोध गरेका हुन् ।

उनले आफ्नो विज्ञप्ति मार्फत केही दिन अघि सार्दिखोलाका साना व्यापारी उमराज बास्तोला, खुदीखोलाका किसान गणेश अधिकारी, मजदुर व्यबसायी खड्क राई ,मझुवाबस्तीबाट टोलबारे छलफलको क्रममा रहेका जनता मन बहादुर तमु लगायत ७ जनालाई गिरफ्तार गरेको जानकारी दिंदै संकटकालको जस्तो आफन्त र मानवअधिकारवादीसम्मलाई भेटघाट गर्न तथा गिरफ्तारबारे सुचनाको हकमा बन्देज लगाएकोमा आपत्ति प्रकट गरेका छन् ।

शान्तिपूर्ण सभा सम्मेलनमा गरिएको बन्देज, राजनीतिक संगठनको काममा गरिएको बन्देज, जनताको घर खानतलासी गर्ने, धरपकड, गिरफ्तारी, झुट्टा मुद्दा लगाउने कार्यको सो पार्टीले विरोध जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.