घाटामा खसी व्यापार

रिपोर्ट नेपाल | 2021 Oct 11 | 08:57 am 1073

काठमाडौं, असोज २५ः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घाटामा खसी बोका व्यापार गरिरहेको पाइएको छ । कम्पनीले घाटा खाएर खसी बोका खरिद बिक्री गरी सरकारबाट शोधभर्ना लिने गरेको पाइएको छ ।

संस्थाले गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २५ केजीभन्दा माथिका खसीबोकाको प्रतिकेजी मूल्य ५ सय ५० रुपैयाँ तोकेको थियो । यसवर्ष उक्त मूल्यलाई वृद्धि गरी प्रतिकेजी ५ सय ६५ रुपैयाँ तोकेको छ । कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट दुई हजार खसीबोका खरिद गरेको छ । शनिबारदेखि थापाथली कार्यालयबाट खसीबोका बिक्री सुरु भएको छ । कम्पनीले यस वर्ष च्याङ्ग्रा भने ल्याउन सकेन। तीन हजार च्याङ्ग्रा ल्याउने तयारी भए पनि च्याङ्ग्रा ल्याउन नसकेको हो ।

कम्पनीले खसीबोका बिक्रीको मापदण्ड बनाएको छैन। कम्पनीले प्रतिकेजी १० रुपैयाँ सस्तोमा दिने गरेको छ । कम्पनीले बजार हस्तक्षेप गर्न हरेक वर्ष खसीबोका बिक्री वितरण गर्छ । यसबाट उपभोक्ताले भन्दा व्यापारीले नै लाभ लिइरहेका छन् ।

एउटै व्यक्ति (व्यापारी) धेरै पटक दोहोरिएर सहुलियतरूपमा बिक्री हुने खसीबोका खरिद गरेर चर्को मूल्यमा बिक्री गर्छन् । बुच्छरले लगेर मासु महँगोमा बिक्री गर्दा अधिक लाभ पाउँछन् । कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले सकभर दोहोरिएर आउनेलाई खसीबोका नदिने गरेको बताइन् । व्यापारीले सस्तोमा खसी पाउनका लागि पटकपटक धाउने गरेको कम्पनीका कर्मचारीहरू नै गुनासो गर्छन् ।

कम्पनीको बिक्री वितरण प्रमुख भीमबहादुर थापाले दाङ र मकवानपुरबाट यस वर्ष एक-एक हजार खसीबोका ल्याइएको बताए। कम्पनीले बजारमा मूल्यमा सन्तुलन ल्याउने उद्देश्यले हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा ल्याउने गरेको जनाए पनि यसबाट सर्वसाधारणभन्दा व्यापारी नै मालामाल भएका छन् ।

कम्पनीले घाटा खाएर पनि उपभोक्तालाई सस्तोमा खसीबोका बिक्री गरिरहेको विभागीय प्रमुख थापा बताउँछन् । ‘सामाजिक उत्तरदायित्व सम्झेर हामीले खसीबोका खरिद गरी बिक्री गर्छौ’ उनले भने, ‘यसबाट हामीलाई नाफाभन्दा घाटा छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.