किसानले उत्पादन गरेका स्थानीय खाद्यवस्तु गाउँपालिकाले खरिद गर्ने

| 2020 Sep 12 | 05:38 pm 1685

गुल्मी, भदौ २७ः किसानले उत्पादन गरेका स्थानीय खाद्यवस्तु खरिद गरेर धुर्कोट गाउँपालिकाले बेच्ने भएको छ ।

गाउँपालिकाले तितौरा, गुन्द्रुक, मुलाको चाना, बेसार, कोदो, बोडी, मकै, भटमास र गहतको दाल खरिद गर्नेछ । यसको लागि गाउँपालिकाले आफ्ना उत्पादनहरु सङ्कलन केन्द्रसम्म पुर्‍याउन सूचना जारी गरेको छ ।

गाउँका उत्पादन बेच्नको लागि गाउँपालिकाले बुटवलको ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता गरेको छ ।

सूचनामा जनाइए अनुसार तितौरा तीन सय ८० रुपैयाँ किलो, गुन्द्रुक चार सय रुपैयाँ किलो, मुलाको चाना ६० रुपैयाँ, बेसार दुई सय ८५ रुपैयाँ, कोदो ३७ रुपैयाँ किलो, बोडीको दाल एक सय ५० रुपैयाँ किलोमा खरिद गर्ने भएको छ । यस्तै मकै ४०, भटमास ७० र गहत ९० रुपैयाँमा किन्ने गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए ।

बारीको मकै भित्र्याइसकेको र मुला लगाउने बेला भएकाले किसानलाई प्रोत्साहन गर्न यस्तो घोषणा भएको उनले बताए ।

गाउँमा बारी बाँझो रहने र युवाहरु बेरोजगार हुने समस्याको समाधानको लागि यस्तो निर्णय गरिएको पोखरेलको भनाइ छ ।

किसानका उत्पादन खरिद गरेर बिक्री गर्न गाउँपालिकाले पिक–अप जीप पनि खरिद गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.