कालिकाेट पहिराेमा मृत्यु हुनेकाे संख्या १० पुग्याे, २ अझै बेपत्ता

रिपोर्ट नेपाल | 2020 Aug 31 | 07:37 am 1308

कालिकाेट, भदाै १५ः जिल्लाकाे तिलागुफा–१, नाग्म बजारमा शनिबार राति खसेकाे पहिराेमा चार घर भत्किँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हाे । २ जना भने अझै पहिराेमा हराइरहेका छन् ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन भासिएर पहिरो खसेकाे थियाे । साे क्रममा घरहरू भत्किएर ती घरभित्र रहेकाहरू पुरिएका थिए । पहिराेमा पुरिएकाे अवस्थामा उद्धार गरिएका २ जनालाई भने उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जनाइएकाे छ ।

पुरिएकामध्ये १० को शव फेला परेको कालिकाेट प्रहरीले जनाएकाे छ । पहिराेमा परेर शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवारका ४ जनाको मृत्यु भएको जनाइएकाे छ , जसमा ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कल रहेका छन्  ।

यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकाेटका  प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए  ।

बेपत्ता २ जनाकाे उद्धार तथा खाेजी कार्य जारी रहेकाे पनि उनले बताए ।  उक्त कार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन्  । सञ्चार अभावका कारण बेलैमा सूचना नपुग्दा उद्धार कार्यमा ढिलाइ भएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.