काठमाडौंमा पानी पर्नासाथ जलमग्न

रिपोर्ट नेपाल | 2022 May 27 | 07:42 am 677

काठमाडौं, जेठ १३ः काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा परेका छन् । बिहीबार साँझपख परेको पानीका कारण अनामनगरका केही क्षेत्र डुबानमा परेका छन् ।

माइतीघर, सिंहदरबार, पुतलीसडक, कपनलगायतका क्षेत्र जलमग्न भएका छन् । ती क्षेत्रमा वर्षाको पानी जम्दा सवारीसाधन आवतजावतमा समेत प्रभाव परेको छ । बुधबार पनि काठमाडौं उपत्यकामा वर्षा भएको थियो । वर्षाका कारण नारायणहिटी क्षेत्रमा समेत सवारी आवतजावतमा प्रभाव परेको थियो । वर्षाको पानीका कारण बिहीबार र बुधबार काठमाडौंमा घण्टौं जाम लागेको थियो ।

टेकु अनामनगर, सुन्धारा, पुतलीसडक, बानेश्वर, माइतीघर, नाराणहिटीलगायतका क्षेत्रमा अबेरसम्म ट्राफिक जाम भएको थियो । ट्राफिक जाम खुलाउन ट्राफिक प्रहरीलाई हम्मे परेको थियो । काठमाडौं उपत्यकाका ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ ।

विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र काठमाडौंमा थुप्रिएको प्लास्टिकलगायत फोहोरका कारण पनि वर्षाको पानी सडकमा जम्ने गरेको छ । सडक किनारामा रहेका ढल फोहोरले टालिएपछि पानी सडकमा जम्ने गरेको छ ।

ढलको मुख सानो हुने र त्यसमा पनि फोहोरले टालिएपछि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ । सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदलयात्री समस्यामा परेका छन् । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीसमेत मारमा पर्ने गरेका छन् ।

पैदल यात्रुलाई थप सास्ती अव्यवस्थित सडक र ढलको कारण पैदल यात्रुलाई झनै सास्ती हुने गरेको छ । सडकमा वर्षाको पानीले जलमग्न हुने र पैदल यात्रुका लागि भनेर बनाइएका फुटपाथमा समेत निर्माण सामग्री राखिने र मोटरसाइकल पार्किङ गरिने हुँदा सर्वसाधारण थप समस्यामा पर्ने गरेका छन् ।

कतिपय ठाउँमा त फुटपाथमा नै बाइकका वर्कसपका कारण पैदय यात्रु हिँड्नै नसक्ने अवस्था रहेको पैदल यात्रुहरूको गुनासो रहेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.