औद्योगिक ग्राम निर्माण अलपत्र

रिपोर्ट नेपाल | 2022 Jan 19 | 08:09 am 865

डोटी, माघ ५ः डोटीको जोरायल गाउँपालिका–२ बुडरमा रहेको निर्माणाधीन औद्योगिक ग्रामको निर्माणकार्य अलपत्र परेको छ । २०७६ माघ २० गते मन्त्रिपरिषद्ले डोटीको बुडरमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो । सो निर्णय भएसँगै बहुवर्षीय योजनाअन्तर्गत औद्योगिक ग्रामको निर्माणकार्य सुरु गरिएको थियो ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७६/२०७७ मा ९२ लाख रुपियाँ निकासा आएकोमा ८३ लाख ६० हजार रुपियाँ खर्च भएको थियो । सो रकमबाट औद्योगिक ग्राम निर्माणस्थलमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायतका संरचनाको निर्माण भएको थियो । त्यसपछि थप बजेट निकासा नहुँदा औद्योगिक ग्राम निर्माणकार्यलाई पूर्णता दिन नसकिएको जोरायल गाउँपालिका अध्यक्ष ओझाले बताए ।

जोरायल गाउँपालिकाको बुडरमा ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणका लागि जमिन छुट्ट्याइएको छ । यसलाई विस्तार गर्न पाँच सय रोपनीसम्म जग्गा लिने तयारी गरिएको बताइएको छ । औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मौखिक रूपमा आएको जानकारी दिदै अध्यक्ष ओझाले भने, “डीपीआर निर्माणका लागि आउदै छौँ भनेर फोन आएको थियो तर डीपीआर निर्माणको काम सुरु भएको जानकारीसमेत आएको छैन । ”

औद्योगिक ग्राम निर्माणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच २०७६ फागुन १६ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोत–साधन, कच्चा पदार्थ, प्रविधि र सीप परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण अगाडि बढाइएको हो । उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु-याउने औद्योगिक ग्राम निर्माणको उद्देश्य रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रवेशद्वारका रूपमा रहेको जोरायल गाउँपालिका–२ बुडरमा औद्योगिक ग्राम निर्माण सुरु भएसँगै स्थानीय स्तरमा आर्थिक उपार्जनलगायत रोजगारीको आशा गरेका स्थानीयमा समेत निराशा छाएको छ । औद्योगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.