आमा, म र नेपाली समाज

| 2018 Jun 26 | 09:46 am 5567

– कल्पना केसी क्षेत्री

मानिसहरू जन्म दिनको त निकै याद गर्छन् तर जन्मदिनको सम्झना राख्दैगर्दा आफूलाई जन्म दिनेको भने सम्झना गरिँदैन । सामान्य जस्तो लागे पनि यो विषय निकै मार्मिक हो भन्ने सोचका साथ यसबारे दुई शब्द कोर्न मन लाग्यो ।

हो, त्यो साँच्चिकै दर्दनाक पीडादायी दिन थियो । त्यो दिन अस्पतालसम्म जान नसक्ने परिस्थिति थियो । सायद बाबा जागिरे भइदिएको भए ‘म सुविधासम्पन्न अस्पताल जान्छु, मलाई सुख–सुविधा चाहिन्छ’ भन्नुहुन्थ्यो होला । तर विडम्बना ! आमाको त्यो समय कस्तो थियो भने आफू मरेर पनि बच्चालाई बचाउनुपर्ने दायित्वले चेपिएको परिवेश । मेरी आमा पनि त्यस्ती व्यक्ति हुनुहुन्थ्यो जो नखाएर पनि म अघाएकै छु, मेरो पेट टन्नै छ भनेर सन्तोष व्यक्त गरिरहनु हुन्थ्यो । यही अवस्थामा आषाढ १४ गते मेरो जन्म भएछ । कसरी भयो ? कस्तो अवस्थामा भयो ? मैले त देखिनँ । तर आज आफैले भोग्नुपर्दा आमाको पिडा कस्तो हुँदोरहेछ भन्ने जीवन्त अनुभव गर्न थालेकी छु ।

साँच्चै मेरो आमा सहनशील सुशील हुनुहुन्छ । आमाको प्रेरणाबाट मैले बाँच्न सिकेकी छु । त्यो पीडा, त्यो दर्द (नौ–दश) महिनासम्म पेटमा बच्चा बोक्ने अनि जन्माउने, हुर्काउने क्रम ! किसान वर्गले दिनहुँ ब्यहोर्नुपर्ने दुःख, बिहान ३–४ बजे नै उठ्नु, ढिकीजाँतो गर्नु । ६ जना सन्तानको चित्त बुझाउनु अनि बाबाको मनपेट बुझ्नु र त्यहिअनुसार व्यबहार गर्नु, धन्य हुनुहुन्छ आमा हजुर !

ती बुढीआमा आफूले दुःख गरी डोकोमा ढुंगामाटो बोकी जंगलबाट काठ बोकी कमिलाले जस्तो गरी बनाएको भुकम्पले चिरा पारेको घर पानी पर्दा भाँडा थापी काल पर्खन बाध्य छिन् । मेरी बुढी आमा सम्झँदा धेरै दर्द हुन्छ, मुटु चिरिन्छ । आमा आफ्नै छोरीको घरमा बस्न किन नहुने ? छोरी पनि त्यही कोखको सन्तान होइन र ?

आज मैले हजुरका ती अतीत सम्झिन्छु मेरो मुटु दुख्छ, भतभति पोल्छ । के गर्नु यो हाम्रो अन्धो समाजमा छोरीले पराया घरमा जानुपर्छ । छोराले काजक्रिया गर्छ रे । हो यिनै आमा आज त्यस पुख्र्यौली घरको पिँढीमा आफ्नो बच्चाको पर्खाइमा यताउता मधुरो देख्ने गहभरी आँसु पार्दै त्यो मायाले भरिएको मुटुले कुन बाटो आउलान् र कुन चाहिँ छोरा–छोरीले ‘आमा’ भन्लान् भन्दै पिँढी कुरेर बस्न बाध्य हुनुभएको छ । हुन त मेरी आमाको अतीतलाई सम्झना गरी लेख्न थाल्यो भने धेरै समय नै लाग्ला तर हरेक छोराछोरीले के बुझ्न जरुरी छ भने आमाले हामीलाई आफ्नो हातको नङभित्र दिसा पस्दा वा रातभर त्यो पिसाबले भरिएको चिसो थाङ्नामा सुत्नुपर्दा पनि कहिले आत्तिनुभएन, बरु उहाँले छाती चुसाई हुर्काई बढाई पढाई ठूलो पारी २–४ पैसा कमाउन सक्नेसम्म बनाउनु भयो ।

त्यो २०–२५ बर्षसम्म खाई–नखाई दुःख अनि पिँढीमा कहिल्यै त्यो बच्चा रुन पनि नदिइकन हुर्काएको सन्तानले आज ‘मेरो फुर्सद छैन’ भन्छन् । आफ्नो छोराछोरीको ख्याल गर्नुपर्छ, पढाउनुपर्छ भनेर पनि भन्दैछन् । ती सन्तानले किन र कसरी भुल्न सक्छन्, कति छिटो भुल्न सक्छन् ती बुढी आमा हाम्रो सेवामा छिट्टै बुढी अनि रोगी हुनुभाको भनेर ? आज पनि ती बुढीआमा आफूले दुःख गरी डोकोमा ढुंगामाटो बोकी जंगलबाट काठ बोकी कमिलाले जस्तो गरी बनाएको भुकम्पले चिरा पारेको घर पानी पर्दा भाँडा थापी काल पर्खन बाध्य छिन् । मेरी बुढी आमा सम्झँदा धेरै दर्द हुन्छ, मुटु चिरिन्छ । आमा आफ्नै छोरीको घरमा बस्न किन नहुने ? छोरी पनि त्यही कोखको सन्तान होइन र ?

आखिर किन, किन, किन ?

९–१० महिना पेटमा पालेर २०–२५ वर्षसम्मको भोगाई यो आमाको ऋणको हिसाब चुक्त्ता गर्न सक्दैनन् कसैले । हो, २०–२५ वर्षसम्म आमाले गरेको सेवा–सुश्रुषा भुलेर आज पछि बनाइएकाको नाता श्रीमान् अनि श्रीमतीले गर्दा सब बिर्सेजस्तो गर्दछन् । छोराछोरीले बुढी आमाको आशा अनि पर्खाइलाई मनन गर्न जरुरी छ । अहिलेको जस्तो सुविधा आमाको समयमा भोग गर्न नपाइए पनि, ‘क’सम्म नपढेकी भए पनि, आमाले आज यहाँसम्म पुऱ्याउनु भाको छ । त्यो हामी सन्तानले भुल्नै नहुने कुरा हुन्छ । सबै सन्तानले भित्रैदेखि बुझनुपर्छ कि आज ती वृद्धा आमालाई हाम्रो आवश्यकता छ । आमा हाम्रो खोजीमा हुनुहुन्छ, हाम्रो मायाको खोजीमा हुनुहुन्छ । सबै आफ्ना सन्तानले छाडेर टाढाटाढा गएका छन् । त्यही पनि अब नाती–नातीनीको मायामा भुल्न बाध्य हुनुहुन्छ । के थाहा ती वृद्धा आमालाई तिनीहरू पनि छाडेर टाढाटाढा जान्छन् भनेर ? बिचरी आमा ! ‘आई लभ यु’ मेरी आमा !! साष्टाङ्ग दण्डवत मेरी आमा !!! अर्को जन्ममा पनि म मेरै आमा–बाबाको नै छोरी भएर जन्मन पाउँ ।

अन्त्यमा मलाई जन्माउने मेरी आमाको सु–स्वास्थ्यको कामना गर्दै आफ्नो जन्मदिनको शुभकामना मेरी प्राणभन्दा प्यारी आमालाई दिन चाहन्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.