काठमाडाैं, बैशाख ३०ः काठमाडौं उपत्यकामा आज (बिहीबार) बाट थप दुई सात निषेधाज्ञा लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बुधबार राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले राति देखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो।
जारी सूचनामा अत्यावश्यकीय सेवाका कार्यालयलाई भने सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिने र त्यसका लागि न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न भनिएको छ । तर अत्यावश्यकबाहेकका अरू सबै कार्यालय भने बन्द गर्न भनिएकाे छ । सूचनामा भनिएकाे छ, ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने-गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ ।’
यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ । मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन ।
सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ । यस्तै आजैदेखि लागू हुनेगरी अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द गरिएको छ ।