तनहुँ , असार १७ः जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाइ कार्यालयहरुको वडा एरियामा लुकिछिपी अबैध रुपमा नदिजन्य क्षेत्रबाट गिट्टी बालुवा उत्खनन् गरी निकाशी गर्ने बिभिन्न किसिमका सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित निकायहरुमा बुझाएको छ ।
नियन्त्रणमा लिएका सवारीहरुमा जिल्ला प्रहरी कार्यालय तनहुँले असार १४ गते राती जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं ५ स्थितमा रहेको साघेखोला बगरबाट १ वटा ट्याक्टर नियन्त्रणमा लिई स्थानीय व्यास नगरपालिकाको कार्यालयमा आवश्यक कारवाहीको लागी पठाएको छ ।
सोही दिन ईलाका प्रहरी कार्यालय बेलचौताराले शुक्लागण्डकी नगरपालिका अन्तर्गतबाट २ वटा ट्याक्टर नियन्त्रणमा लिई स्थानीय शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा आवश्यक कारवाहीको लागी पठाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय आबुखैरेनीले असार १२ गते जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका अन्तर्गतबाट १ वटा टिप्पर नियन्त्रणमा लिई स्थानीय आबुखैरेनी गाउँपालिकाको कार्यालयमा आवश्यक कारवाहीको लागी पठाएको छ ।
ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले असार १७ गते भानु नगरपालिका अन्तर्गतको मर्स्याङ्दी नदीबाट १ वटा ट्याक्टर नियन्त्रणमा लिई स्थानीय भानु नगरपालिकाको कार्यालयमा आवश्यक कारवाहीको लागी पठाएको छ ।
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७७ जेठ २८ गते तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ बखरखोला स्थित बुद्द सिंह मार्ग सडक खण्डमा दुर्घटना भई एक जनाका मृत्यु भए पश्चात् फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका वडा नं ६ बस्ने बर्ष २६ को कालु भन्ने मनोज कुमार गुरुङ रहेका छन् ।
नाअपम २००(ग १ त ५८०६) नं. को ट्याक्टर बखरखोलाबाट बन्दिपुर धरमपानी जाने सडक तर्फ गिट्टी बालुवा लोड गर्नका लागि लैजादै गर्दा पल्टिई दुर्घटना हुँदा उक्त ट्याक्टरमा सवार बन्दिपुर गाउँपालिका वडा नं ६ बस्ने बर्ष २२ को पञ्चराज गुरुङको मृत्यु भएको थियो ।
मृत्यु भएपछि सवारी ज्यान मुद्दामा तत्काल वारदात पश्चात फरार रहेका गुरुङलाई पक्राउ गर्नको लागि सम्मानित जिल्ला अदालतबाट समेत पक्राउ अनुमति जारी गरेको थियो ।
अनुमति लिई खोजतलास गर्ने क्रममा असार १७ गते दिउँसो तनहुँ व्यास नगरपालिका वडा नं ३ सिर्जनाचोक स्थितमा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ गरी उनलाई सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको बताइएको छ ।