कैलाली, असाेज ३०ः टीकापुरले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएकाे छ । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड नबनाएको बताइएको छ ।
बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका बिनाेद थापाले १ घण्टामा १ खुट्टाले २ हजार ७५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका हुन् । गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् ।
अब उनले आगामी कात्तिक ४ गते ‘मोष्ट मार्सल आर्टस किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स’ अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने विधाको रेकर्ड बनाउने तयारी गरेका छन् । यो समय पनि गिनिज बुक अफ ओरल्ड रिकर्डले तोकेको मापदण्डअनुसार नै गरिने उल्लेख गरिएको छ ।
हाल दुवै खुट्टाको प्रयोग गरी राखिएकाे रेकर्ड भने जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । कातोको नाममा एक घण्टामा ३ हजार ६३२ पटक किक हानेर विश्व रेकर्ड कायम भएको खेलकुद पत्रकार सीताराम ओझाले बताए। कार्यक्रममा धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वड, सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवाश शाही लगायतको उपस्थिति थियो ।