हेटौँडामा बर्डफ्लु फेला, करोडौंको क्षति, किसान चिन्तित

रिपोर्ट नेपाल | 2019 Mar 14 | 09:43 pm 75

मकवानपुर, फागुन ३० : हेटौँडामा हजारौँ कुखुरा दुई साताअघि मरेका थिए मर्नुको कारण बर्डफ्लु भएको पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको बताए ।

स्थानीय किसान कुलप्रसाद चौलागाईंले पालेका कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको छ । करौडौँको क्षति हुने गरी दुई साताअघि दुई दिनको अन्तरालमा कुखुरा व्यवसायीको हजारौँ कुखुरा मरेका थिए । व्यवसायिले दिएको जानकारीअनुसार हेटौँडा वडा नम्बर–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका जानकारी दिएका थिए । भेटेनरी अस्पतालका अनुसार एच नाइन भाइरसको सङ्क्रमण भएको र बर्डफ्लु नभएको बताएका थिए ।

विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले जानकारी दिए । यसको नियन्त्रणको विषयमा छलफल भई रहेको प्रमुख खरेलले बताए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारीले आपत्कालीन बैठक बसी नियन्त्रणको काम शुरु भइसकेको बताए । यस हेटौँडा उपमहानगरपालिका व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि चिन्तित बनेका किसान बर्डफ्लु प्रमाणित भएपछि थप चिन्तित बनेका छन् । हेटौँडा ८ का किसान सुवर्ण अधिकारीले ऋण गरेर कुखुरा पाल्न शुरु गरेको र अब के हुने हो भन्ने चिन्ताले सताएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.