हिल्सा नाका खुुलाउन हुम्लावासीकाे माग

| 2022 Apr 21 | 12:06 pm 313

हुम्ला, वैशाख ८ः कोरोना महामारीका कारण बन्द भएको नेपाल र चीनबीचको हिल्सा नाका सञ्चालन गर्न हुम्लावासीले माग गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ, हुम्लाका अध्यक्ष नामग्याल तामाङले जिल्लाको व्यापारिक केन्द्र हिल्सा नाका खुलाउने पहल गर्न सरकारसँग माग गरेका छन् । उनले हिल्सा नाका सञ्चालन हुने समय आएकाले सो नाका खुलाइए हुम्लावासीको व्यापार व्यवसाय, पर्यटन र रोजगारी तथा आयआर्जनमा सहयोग पुग्ने बताए ।

मानसरोवर कैलाश दर्शन गर्ने समय सुरु भएको र नाका बन्द भएसँगै स्थानीयवासीको व्यापार व्यवसाय पनि प्रभावित भएकाले नाका पुनः सञ्चालन गर्न आग्रह गरिएको हो ।

हिल्सा नाका बन्द हुँदा हुम्लावासीले रोजगारीका लागि तिब्बतको ताक्लाकोट पनि जान पाएका छैनन् । नाका खुला भए दुई हजारभन्दा बढी हुम्लावासी रोजगारीका लागि ताक्लाकोट जान पाउने अध्यक्ष तामाङले बताए ।

२०७६ सालबाट देखापरेको कोरोनाका कारण हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोटसँगको व्यापार र सम्पर्क बन्द  भएको हो । पर्यटन व्यवसायी रिन्जिन लामाले वैशाख महिना लागेसँगै मानसरोवर कैलाशको दर्शन गर्ने सिजन सुरु भएकाले नाका खुलाउनुपर्ने बताए ।  उनले नाका बन्द भएका कारण हिल्सामा ठूलै लगानी गरेर स्थापना भएका एक दर्जनभन्दा बढी पर्यटकीय होटल बन्द छन् ।

कोरोना महामारी सुरु हुनुअघिका तीन वर्ष हिल्सा नाकाबाट ३० हजारभन्दा बढी भारतीय मानसरोवर कैलाशको दर्शन गर्न गएका थिए । यसबाट यहाँको पर्यटन व्यवसायलाई फाइदा हुनुका साथै स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको थियो ।

नाका बन्द हुँदा हिल्सामा स्थापना भएको भन्सार कार्यालय पनि बन्द छ । विकास निर्माणका सामग्री पनि ताक्लाकोटबाट हिल्सा हुँदै आउने गर्दथ्यो । नाका बन्द हुँदा व्यापार व्यवसाय सबै ठप्प छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.