हात्ती पनि तस्करी

| 2022 Mar 27 | 08:01 am 237

पर्सा, चैत १३: नेपालका घरपालुवा हात्ती पनि भारतमा तस्करी हुने गरेको खुलेको छ। तराईको खुला सिमानाको प्रयोग गर्दै भारतका विभिन्न स्थानमा लगेर बिक्री हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। सिमाना जोडिएको पर्साको गाउँबाट शनिबार दुईवटा घरपालुवा हात्तीसहित माउते र तस्करीमा संलग्न व्यक्ति पक्राउ परेसँगै यस्तो रहस्य खुलेको हो।

पर्साको पकाहामैनपुर गाउँपालिका–५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले २ वटा हात्तीसहित ३ जनालाई पक्राउ गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। भारतमा तस्करी गर्न लागेको अवस्थामा हात्तीसहित चितवन भरतपुर महानगरपालिका–१८ जितपुरका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकाहामैनपुर ५ सबैठवाका ३५ वर्षीय सफरोज आलम पक्राउ परेका छन्। सफरोज हात्ती तस्करीको कारोबार गर्ने र अन्य दुईजना माउते भएको प्रहरी नायव उपरीक्षक खनालले बताए।

अन्य स्थानबाट यहाँ हात्ती लैजाने र त्यहाँबाट भारतका विभिन्न राज्यमा पुर्‍याएर बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको खनाल बताउँछन्। ‘त्यो गाउँमा लगेर हात्ती राखिएको थियो, शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तस्करी गर्न लागेको पाइयो,’ उनले भने, ‘हात्तीको पनि तस्करी हुने घटनामा संलग्न यसअघि यहाँबाट पक्राउ परेका थिएनन्।’ धेरैले यस्तो पनि घटना हुनसक्छ भन्ने अनुमान पनि नगरेको  उनी बताउँछन्।

प्रनाउ खनालका अनुसार चितवनको सौराहा क्षेत्रबाट घरपालुवा हात्तीहरू तस्करले भारतको पन्जाब र युपी प्रदेशमा लगेर बिक्री वितरण गर्दै आएको सूचना प्रहरीलाई १ वर्ष पहिले नै प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा प्रहरीले पर्साको सीमावर्ती क्षेत्रमा निगरानी गर्दै आइरहेको थियो। ‘यो विषयलाई हामीले गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेका थियौं,’ प्रनाउ खनालले भने, ‘त्यही क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली शनिबार दिउँसो पकाहामैनपुर पुगेको थियो। अनि पक्राउ गर्न सफल भयो।’

प्रहरी त्यहाँ नपुगेको भए शनिबार नै हात्तीलाई सीमा पारी लैजाने तयारीमा तस्करीमा संलग्न व्यक्तिहरू रहेको खनाल बताउँछन्। उनका अनुसार तस्करहरूले नेपालबाट भारतमा लगेर एउटा हात्ती उमेर अनुसार १ देखि ३ करोड रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए। शनिबार नियन्त्रणमा लिइएको दुवै हात्तीसहित तस्कर र माउतेहरूलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको छ।  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.