हुम्ला, वैशाख ३ः हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा अवरुद्ध भएको हो ।
नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुख मोहन गिरीले दुई दिनयता हुम्लाका लागि कुनै पनि उडान हुन नसकेको बताए । उनका अनुसार मौसम सफा भए पनि नेपालगञ्जमा कुनै विमान नहुँदा हुम्लामा उडान हुन नपाएको हो । गत बिहीबार सीता र समिट एयरले केही उडान गरे पनि त्यसयता कुनै पनि उडान हुन सकेको छैन ।
सोही दिन हुम्लाका लागि उडान गरेपछि ती विमान काठमाडौँ फिर्ता भएका थिए । यसरी उडान नभए पछि नेपालगञ्जका यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनुपरेको छ ।
केही समयअघिसम्म नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान गर्न छोडेको छ । उपभोक्ता टेकबहादुर रोकायाले केही समययता उडान नियमित नहुुदा दैनिक उपभोग्य सामानको मूल्य आकाशिएको र अभास हुन थालेको बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न भने हेलिकप्टरबाट नियमित रूपमा ढुवानी भइरहेको छ । खाद्य कम्पनीका हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्ज र सुर्खेतबाट गाडीमा सर्केगार्ड गाउँपालिका–१, खच्चासम्म ढुवानी हुने र त्यताबाट माउन्टेन एयरको हेलिकप्टरले दैनिक ढुवानी गरिरहेको छ । यसका लागि सो एयरलाइन्सको हेलिकप्टर सिमकोट विमानस्थलमा नाइट स्टेमा रहँदै आएको छ । गाेरखापत्र दैनिकबाट