हत्या आरोपमा बहालवाला वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

रिपोर्ट नेपाल | 2022 May 11 | 02:03 pm 353

रुकुम, बैशाख २८ः महिलाको हत्या आरोपमा जनप्रतिनिधि र उम्मेदवार पक्राउ परेका छन्। रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका नेता(कार्यकर्ता पक्राउ परेका हुन्।

वैशाख १९ गते पुथाउत्तरगंगा गाउँपालिका ११ मा निर्वाचन प्रचार(प्रसारका क्रममा भएको झडपपछि हराइरहेकी स्थानीय ३९ वर्षीया दुथि भनिने जुनमाया बुढाको हत्या आरोपमा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–११ का वडाध्यक्ष जयकुमार बुढा, माओवादी केन्द्रबाट वडाध्यक्षका उमेदवार रहेका कुमार सिंह बुढा र अर्जुन बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

झडपमा संलग्न भएको, प्रहरीको प्रारम्भीक अनुसन्धान र पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले बताए। ‘पीडित पक्षले माओवादीकै नेता–कार्यकर्ताहरुले अपहरण गरी हत्या गरेको आरोप लगाएका थिए। उनीहरुले दिएको जाहेरी र घटनामा संलग्न भएको आधारमा पक्राउ गरिएको हो।’

मृतकको लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरिएको छ। फरेन्सीक टेस्ट समेतका लागि त्यहाँ पठाइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट १० दिन थुनामा राख्नका लागि म्याद थप गरिएको छ।

गत वैशाख १९ गते राति भएको माओवादी र एमाले कार्यकर्ताबीचको झडप पछि ति महिला हराइरहेकी थिइन्। झडपमा परेको भन्दै भाइ खोज्न गएकी महिला नै हराएकी थिइन्। उनको शव एक हप्ता पछि गएको २६ गते जंगलमा फेला परेको थियो। बहालवाला वडा अध्यक्ष र आउदै गरेको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार नै पक्राउ परेको घटनालाई अर्थ पूर्ण रुपमा हेरीएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.