स्वरोजगार बन्दै मजदुर

रिपोर्ट नेपाल | 2020 Oct 08 | 09:13 am 64

सर्लाही, असाेज २२: कोरोना भाइरसको महामारीले रोजगारी गुमाएका गरिब परिवारलाई महोत्तरीको गौशाला नगरपालिकाले आयआर्जन परियोजनामा आबद्ध गराएको छ। मजदुरी गरेर जीवन चलाउने ४ सय ५०  परिवारलाई बाख्रापालन, फलफूल खेती, माछापालन, जडीबुटी खेतीमा आबद्ध गराएको हो। कोभिड–१९ बाट प्रभावित अति विपन्न परिवारका लागि ‘आयआर्यन तथा रोजगारी विकास परियोजना’ कार्यान्वयनमा ल्याइएको छ। गौशाला नगरपालिका र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा विपन्नको आर्थिक उत्थानका परियोजना ल्याएको छ।

सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरीको प्राविधिक सहयोगमा कार्यान्वयमा आएको परियोजनामा साझेदार संस्था र स्थानीयको श्रमदानसहित २ करोड ५३ लाख लगानी हुने भएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए। कोरोनाको महामारीले रोजीरोटी गुमाएका गौशाला नगरपालिकाको ३, ८, १० र १२ गरी चार वडाका अति विपन्न परिवारको सशक्तीकरणमा परियोजना केन्द्रित रहेको उनले उल्लेख गरे।

गौशाला–८ बेलगाछीस्थित सोनीखोलाको बाढीले कटान गरेर बगर बनाएको ५० हेक्टर जग्गामा फलफूल खेती सुरु गरिएको छ। आँप, लिची, कटहर, कागती, काजुका ५५ सय बिरुवा एक महिनाअघि रोपिएको थियो। आधुनिक तरिकाले सोही जमिनको खाली ठाउँमा दलहन, तेलहन, करेसाखेती गरिने परियोजना संयोजक विवेक गौतमले जनाए।

त्यसैगरी बेलगाछी, कान्तिबजारमा तीन समूह गठन गरी तीनवटा पोखरीमा सामूहिक रूपमा व्यावसायिक माछापालन गर्ने काम भइरहेको छ। ‘पोखरीको पानी र माटोको हालको अवस्थाको ल्याब परीक्षण गर्ने काम थालिएको छ’, परियोजना संयोजक गौतमले भने। नगरपालिकाले सार्वजनिक स्थानमा रहेको स–साना पोखरी आयआर्जनका लागि गरिबलाई उपलब्ध गराइएको हो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.