स्थानीय तह निर्वाचन २०७९ : १६ गतेबाट मतपत्र छपाइ हुँदै

| 2022 Mar 28 | 07:45 am 241

काठमाडौं, चैत १४ः जनक शिक्षा सामग्री संस्थानले चैत १६ गतेबाट मतपत्र छपाइ शुरू गर्ने भएको छ । निर्वाचन आयोगले हिजो आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मतपत्र छपाइ गर्न दिने निर्णय गरेको हो । करिब २ करोड मतपत्र छपाइका लागि ९ वटा मेसिन तयारी अवस्थामा रहेको संस्थानले जनाएको छ ।

संस्थानका महाप्रबन्धक अनिलकुमार झाले मतपत्र छपाइका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनले भने– ‘आयोगका आयुक्तसहितको टोलीले जनकको छापाखानाको अवलोकन गरेलगत्तै काम गर्न पत्र दिएको हो । संस्थानले बुधबारबाट छपाइ शुरू गर्नेछ ।’ उच्च सुरक्षा निकायले केन्द्रको सुरक्षा अवस्थाबारे जानकारी लिइसकेको छ । आयोगले प्रेसको अवस्था र छपाइको क्षमतालगायतको विषयमा जानकारी लिएपछि मतपत्र छपाइ गर्ने निर्णयसहितको पत्र संस्थानमा पठाएको हो ।

मतपत्र छाप्नुअघि सबै मेसिन र छपाइ गर्ने स्थल सुरक्षा टोलीले जिम्मा लिनेछ । त्यसपछि सबै आधार र आवश्यक क्षेत्रमा सीसीटीभी जडान गर्न निर्देशन दिनेछ । संस्थानका प्रवक्ता चित्रकुमार आचार्यले छपाइ गर्न तीन तहको सुरक्षा घेरा हुने जानकारी दिँदै भने–‘पहिलो घेरा नेपाली सेनाको हुनेछ । दोस्रोमा सशस्त्र र अन्तिम सुरक्षा घेरा नेपाल प्रहरीको हुनेछ ।’ सरकारले मतपत्र सुरक्षार्थ करिब १ सय ५० सुरक्षाकर्मी परिचालन गर्नेछ । त्यसमा झन्डै सयको हाराहारीमा नेपाली सेना परिचालित हुनेछ ।

तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाइ गर्न उच्च सुरक्षा संयन्त्र परिचालन हुने तथा कर्नेलको नेतृत्वमा नेपाली सेनाले मतपत्र छपाइ गर्न पहिलो घेराको सुरक्षा दिनेछ । संस्थानका अनुुसार १५ गतेबाट सुरक्षाकर्मीको आगमन हुने र १६ गते सबै तयारीपछि मतपत्र छपाइ हुनेछ ।

हरेक निर्वाचनमा मतपत्र छाप्ने जिम्मा संस्थानले नै लिएको छ । संस्थानका प्रवक्ता आचार्यले भने– ‘२०३६ सालको जनमत संग्रहदेखि नै मतपत्र छपाइ गर्ने जिम्मा लिँदै आएका छौं । ४२ वर्ष भयो, सबै निर्वाचन र जनमत संग्रहमा समेत संस्थानबाटै मतपत्र छाप्ने गरेका छौं ।’

संस्थानले ६ हजार ७ सय ४३ वडाका करिब २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले ६ हजार ७ सय ४३ मतपत्र छपाइ गर्न जनकशिक्षा सामग्री संस्थानलाई पत्राचार गरेलगत्तै जनकशिक्षाले सो तयारी गरेको हो । जनक शिक्षाले मतपत्र छाप्न शुरू गरेको दुई सातामै सबै छपाइ गर्नेछ । आयोगले अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा करिब २० दिन ढिला गरी मतपत्र छाप्न पत्र पठाएको हो ।

छपाइ मात्र गर्ने भए एक सातामा सकिने तर मतपत्रमा नम्बर राख्नेदेखि परफेटिङ गर्नेसम्मको काम भएकाले केही दिन लाग्न सक्ने संस्थानको भनाइ छ । संस्थानले मतपत्र ढुवानीबाहेकका सबै काम गर्नेछ । आयोगका अनुसार निर्वाचनमा सबै स्थानीय तहका लागि फरकफरक मतपत्र हुनेछन् । महाप्रबन्धक अनिलकुमार झाले जनक शिक्षा संस्थानले तोकिएकै समयमा सबै मतपत्र छपाइ गर्न सक्ने बताए। नेपाल समाचारपत्रबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.