सेती नदिको खोचमा फसेका एक व्यक्तिको सकुशल उद्वार

रिपोर्ट नेपाल | 2020 Feb 10 | 10:13 pm 61

कास्की, माघ २७: पोखरा महानगरपालिका ९ स्थित सेती नदिको खोचबाट एपीएफ टोली र नेपाल प्रहरीले सोमबार एक जनालाई सकुशल उद्वार गरेको छ ।

उद्धार गरिनेमा म्याग्दी घर भई पोखरा महानगरपालिका ७ बैदाम बस्ने २२ वर्षीय आकाश गुरुङ रहेका छन् । उनलाई सेती नदीको खोचको करीव ५० मिटर तलबाट सकुशल उद्वार गरिएको हो ।

उक्त व्यक्ति खोचमा फसेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट टोली त्यस ठाउँमा खटिएको थियो।

लोड अवस्थामा रहेको भरुवा बन्दुकसहित एक पक्राउ

डोल्पा जिल्लाको ठूलोभेरी नगरपालिका २ स्थित लोचा जंगलबाट सोमबार एपीएफ टोलीले लोड अवस्थाको एउटा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठूलोभेरी नगरपालिका ४ पिप्लाका २७ वर्षीय खड्क रोकाया रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

रोकायालाई उक्त भरुवा बन्दुक लोड गरिरहेको अवस्थामा गस्तीमा खटिएको एपीएफ टोलीले फेला पारेको थियो ।

टोलीले उनको साथबाट एक नाल भरुवा बन्दुकसहित तीन सय ५० ग्राम बारुद, १९ वटा शिसाको छर्रा, नौ वटा केप र एक थान चक्कु समेत बरामद गरिएको बताइएको छ ।

पक्राउ परेका रोकायालाई बरामद भरुवा बन्दुक, बारुद, शिसाको छर्रा, केप र चक्कुसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय
डोल्पामा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित मेउलीहवाबाट सोमबार एपीएफ टोलीले करीव एक लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

युपी ५५ भी ४९१९ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको मोटरसाईकल समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.