सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैनः माधव नेपाल

रिपोर्ट नेपाल | 2022 Mar 26 | 07:32 am 257

काठमाडौं, चैत १२ः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् ।

एकीकृत समाजवादीनिकटको मजदुरहरूको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कलम चिह्न लिएर दोस्रो चरणको राष्ट्रिय सभा निर्वाचनमा पनि जित हासिल गरेको स्मरण गराए ।

कसैकसैले पार्टीभित्रैबाट सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उनले अप्ठ्यारो होइन कलम चिह्न लिएर जितको सुरुवात भइसकेको बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्न आफूहरूले वामलोकतान्त्रिक शक्तिसँग मिलेर जाने विषयमा छलफल भइरहेको बताए ।

‘हामीले विजयको सुरुवात पनि ग¥र्यौं । राष्ट्रिय सभाको चुनावमा पहिलोपटक हामीले हाम्रो उम्मेदवारलाई जितायौं । र, जितायौ पनि कसरी भने ठ्याक्क त्यो उम्मेदवारले स्वतन्त्र उम्मेदवारको हैसियतले कलम चिह्न लिनुभएको थियो । र, कलम चिह्नको जितको सुरुवात गरेर अगाडि बढेका छौं । त्यसो हुनाले कसैकसैलाई लाग्ला–सूर्य चिह्न नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर । अप्ठ्यारो होइन हाम्रो जितको सुरुवात भइसकेको छ,’ नेपालले भने ।

उनले अगाडि थपे, ‘कलम चिह्नले जित्न थालिसकेको छ । र, दोस्रोचोटि त झन् एकीकृत समाजवादीको नाममा हामीले कलम चिह्न बोकेर १९ वटा राष्ट्रिय सभा सदस्य चुनावमा पनि उपस्थिति जनायौं । र, हाम्रा सबै उम्मेदवारलाई जितायौं । एउटाबाहेक सबैलाई जिताएर देखाएका छौं । अब फेरि हामी चुनावमा उत्रनुपर्नेछ । वैशाख ३० गतेको चुनावको तयारीमा, स्थानीय तह निर्वाचनको तयारीमा हामीले जुट्नुपर्नेछ । यो जुट्ने सन्दर्भमा वामपन्थी शक्तिबीच मिलेर जाने, लोकतान्त्रिक शक्तिहरूसँग पनि मिलेर जाने विषयमा छलफल भइरहेको छ ।’

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञासमेत दिएका छन् । त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरू केही पनि काम नगरेको उनले बताए । उनले आगामी दिनमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न र नेताहरूलाई गाउँ केन्द्रित हुन निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.