सुरक्षा निकायका प्रमुखहरुबीच जंगी अड्‍डामा भेटघाट तथा छलफल

रिपोर्ट नेपाल | 2022 Apr 24 | 04:56 pm 273

काठमाडाैं, बैशाख ११ः आसन्न स्थानीय तह निर्वाचन-२०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका, सशस्त्र प्रहरी महानिरीक्षक श्री पुष्पराम के.सी. तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री यदुलाल खरेल बीच जंगी अड्‍डामा भेटघाट तथा छलफल भएको छ ।

नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्दहरु तथा अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागीता रहेको उक्त कार्यक्रममा श्री युद्धकार्य निर्देशनालयका निर्देशकले मिति २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन-२०७९ को लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने विषयहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

साथै, उक्त कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच स्थानीय तह निर्वाचन-२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.