‘सुनको पहाड’ मा बेपत्ता परिवारको पीडा

रिपोर्ट नेपाल | 2019 Sep 25 | 09:55 am 77

काठमाडौं, असाेज ८ : आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । पूर्वमन्त्री राम कार्की, लेखक डा अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले मङ्गलबार संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् ।

सो अवसरमा नेकपा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको तथा घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको जनाउँदै उपन्यास पढूँपढूँ लाग्ने खालको भएको बताए ।

लेखक डा थापाले अहिलेको समयमा बेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढङ्गले उतारेको तथा समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकल्पना, दन्त्यकथा र यथार्थको मिश्रणबाट प्रष्ट्याउन उपन्यास सफल भएको विचार व्यक्त गरे ।

‘उपन्यासले बहुल नायक प्रस्तत गर्नु, कथाको प्रस्तुतीकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष भएको हो,’ उनले भने ।

जनयुद्धका क्रममा बेपत्ता पारिएका विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए । उनले भने, “यसका पात्रहरूमा मैले आफूलाई पाएँ । छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ ।”

उनले लेखकले परिकल्पना गरेजस्तो बेपत्ता परिवारको पीडालाई बुझेर आत्मालोचना गर्ने पात्र अझै पनि समाजमा पैदा नभइसकेकाले उपन्यास अध्ययनले त्यसतर्फ झक्झक्याउने विश्वास व्यक्त गर्नुभयो । पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.