सुदूरपश्चिम सरकार युवा विदेश पठाउन भाषा सिकाउँदै

| 2019 May 15 | 07:11 am 59

काठमाडौं, जेठ १: बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो, मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने । बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा पुर्‍याउने कार्यक्रम भने आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन् ।

युवाको आपत्ति

रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्नुको साटो विदेश पठाउन प्रोत्साहन गर्नु दुःखद भएको भन्दै युवाका पक्षमा काम गर्ने संघसंस्थाका प्रतिनिधिले भने आपत्ति जनाएका छन् । श्रम गर्न सक्ने सबै विदेश गए समृद्धि कसरी हासिल हुन्छ ? युवा शान्ति परिषद् कैलालीका संयोजक प्रेम ढुंगानाले भने, रेमिट्यान्सले मात्र देश चल्न सक्दैन, त्यसैले युवाहरूको श्रम देश विकासमा लगाउने वातावरण सरकारले निर्माण गर्नुपर्छ ।

त्रिलोचन भट्टले मुख्यमन्त्रीको शपथग्रहणपछि सुदूरपश्चिमका युवा रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । अब भारतमा चौकीदारी गर्न जाने अवस्था अन्त्य हुन्छ भन्ने उनको भनाइले त्यतिवेला खुब चर्चा पाएको थियो । उनी स्वयं कुनै समय भारतमा चौकीदारी गर्थे ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले उद्योगको विकास र स्वरोजगार सिर्जना गर्ने कार्यक्रम सरकारले गर्न नसकेको बताए । युवाहरूलाई विदेश पठाउन उत्प्रेरित गर्नुभन्दा सीप सिकाएर स्वरोजगार बनाउनुपर्ने उनको सुझाब छ । युवालाई विदेश जान प्रोत्साहन गर्ने प्रदेश सरकारको योजनाले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई नै व्यंग्य गरेको छ, उनले भने । देशमै होटेल, उद्योग, सडक कालोपत्रेलगायत क्षेत्रमा कामदारको अभाव रहेकाले पूर्तिका लागि बेरोजगार युवालाई सीपमूलक तालिम दिनुपर्नेमा जोड दिए । पहिले यहीँ रोजगारीका अवसर सिर्जना गर्नुपर्‍यो । विदेश नै पठाउने हो भने दक्ष बनाएर पठाउनुपर्छ, बोगटीले भने, अदक्ष कामदारका रूपमा लाखौँ नेपालीले विदेशमा सस्तोमा श्रम बेच्नुपरिरहेको छ ।

वैदेशिक रोजगारबाट फर्केकाको संस्था आप्रवासी हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष नारायण विकले पनि युवालाई भाषाभन्दा सीप आवश्यक रहेको बताए । सीप सिके भाषा व्यक्तिले आफैँ पनि सिक्न सक्ने उनको भनाइ छ । विदेश काम गर्न जाँदा भाषा पनि महत्वपूर्ण हो, तर सीप त्योभन्दा मुख्य हुन्छ । किनभने सीप सिकेर गए काम र तलब दुवै राम्रो पाइन्छ, अध्यक्ष विकले भने, तर, अदक्ष कामदारले सस्तोमा श्रम बेच्नुपर्छ ।

स्वरोजगारको बजेट भने खर्च भएन

सुदूरपश्चिम सरकारले स्वरोजगारमूलक कार्यक्रमका लागि विनियोजन गरेको बजेट भने फ्रिज हुने अवस्थामा पुगेको छ । प्रदेशमा स्वरोजगार कोष स्थापनाका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा एक अर्ब विनियोजन गरेको थियो । कोष सञ्चालनसम्बन्धी कानुन नै नबन्दा बजेट फ्रिज हुने अवस्था आएको हो । प्रदेशमा स्वरोजगार कोष गठन हुन सकेको छैन । सीप भएको जनशक्तिलाई विनाधितो ऋण तथा बेरोजगारलाई सीपमूलक तालिम दिन सरकारले स्वरोजगार कोष गठन गर्ने घोषणा बजेटमा गरेको थियो । आजकाे नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.