सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित

| 2020 Jan 09 | 09:20 am 110

डडेल्धुरा, पुस २४ः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा तेस्रो पटक भारी हिमपात भएको छ।

बुधबार रातिदेखि बाक्लो हिउँ परिरहेका कारण डडेल्धुरा सदरमुकामसहित उच्च पहाडी भेगमा अत्यधिक चिसो बढेको छ।

हिमपात पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ।

भारी हिमपातका कारण एक्कासी चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दैनिक श्रम र ज्यालादारीमा निर्भर मानिसहरु बढी प्रभावित भएका छन्।

हिउँ जम्‍न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ। तर, हिमपात र झरीसँगै भएकोले किसानहरू भने चाहिँ खुशी भएका छन्।

हिमपातकै कारण मुख्य दुई राजमार्ग अवरुद्ध भएको छ । पहाडी साता जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङको सडक अवरुद्ध भएको हो।

सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त र दशरथचन्द राजमार्गमा सवारी आवागमन रोकिएको छ। डडेल्धुराको भीमदत्त राजमार्गअन्तरगत पर्ने सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिकाको अनारखोली बजार, गन्यापधुराको साहुँखर्क, हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण प्रमुख सडकहरु नै अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार बुधबार राति हिमपात सुरु हुनुभन्दा पहिले नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। सवारीचालकहरुलाई सुरक्षित स्थान तथा बासस्थानमै साधन रोक्न लगाएपनि केही सवारीसाधन अगाडि गएकाले हिउँमा फसेका छन्।

अवरुद्ध सडक डोजरको प्रयोग गरि खुलाउने प्रयास सुरु भइसकेको डिएसपी न्यौपानेले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.