सीमामा लामबद्ध आत्मसम्मान

रिपोर्ट नेपाल | 2020 Sep 09 | 08:25 am 501

■ बबिता बस्नेत

बारीको सीमा मिचिएको नाममा छिमेकीसँग अभिभावकको टक्कर छ । विवाद छरपष्ट भएर सार्वजनिक मात्र भएको छैन मिलाउनै अप्ठ्यारो अवस्थामा पुगेको छ । सम्बन्धमा खासै असर परेको छैन भन्ने गरे पनि करिव–करिव सम्वादहीनताको अवस्था छ । तर छोराछोरीलाई खान दिन नसकेका कारण बिहान–बेलुकाको छाक टार्नलाई त्यही छिमेकीकहाँ काम गर्न गइरहेका छन् भने ती अभिभावकको टक्करको के अर्थ होला ? सम्मान के होला, आत्मसम्मान के रहला ? अहिले हाम्रो देशमा यही भइरहेको छ ।

कोरोना भाइरसले विश्वब्यापी रुप लिँदै गर्दा अन्य देशमा काम गर्न गएका नेपालीसँगै छिमेकी मुलुक भारतमा काम गर्न गएका नेपालीहरू पनि स्वदेश फर्किए । भारतमा भाइरसको संक्रमण बढेका कारण उनीहरू स्वदेश फर्कंदै गर्दा आफ्नो देशको संसदमा भरखरै सीमासम्बन्धी प्रस्ताव पास भएको थियो । पारित भएको नयाँ नक्साको उत्सव देशमा मनाइरहेका बेला आफ्नो देश फर्कने संयोग उनीहरूलाई मिलेको थियो, बाध्यकारी नै भए पनि । देशमा ‘बन्दाबन्दी’ भएका कारण हप्तौँ सीमामा बसेर बडो कष्टका साथ फर्किएका उनीहरूले यति चाँडै फेरि उतै फर्किनु पर्ला भन्ने सम्भवतः सोचेका थिएनन् । मुलुकका विभिन्न नाकाबाट नेपालीहरू फर्किए पनि सुदूरपश्चिमबाट फर्कनेको सङ्ख्या धेरै थियो । सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लाबाट भारतमा रोजगारीका लागि जानेहरूको सङ्ख्या ठुलो छ ।

भारतमा अहिले कोरोना भाइरसका कारण प्रत्येक दिन एक हजारभन्दा माथिको सङ्ख्यामा मानिसको मृत्यु भइरहेको छ । दिनहुँ ७० हजारभन्दा माथि सङ्क्रमित भेटिइरहेको देशभन्दा आफ्नो देश अहिलेसम्म सुरक्षित छ । तर, सुरक्षाभन्दा भोक ठुलो रहेछ । आफ्नो देशमा, गाउँ–ठाउँमा गरी खाने कुनै उपाय नभएपछि फेरि उनीहरू जुन बाटो आएका थिए त्यही बाटो फर्किइरहेका छन् । प्रत्येक दिनजस्तो ठुलो संख्यामा सुदूरपश्चिम सीमाबाट नेपालीहरू मजदुरीका लागि भारततर्फ गइरहेका छन् । जानेहरू सबैको एउटै आवाज छ– आफ्नो देशमा गरी खाने ठाउँ भए हामी भारत जाने थिएनौँ । अर्काको देशमा ‘बहादुर’ हुन कसलाई पो इच्छा हुन्छ र ? तर घरमा छाक टार्नै नसक्ने भएपछि बाध्यताले उनीहरू परदेशिएका हुन् ।

सुदूरपश्चिममा देखिएको कारुणिक दृष्यले हाम्रा प्रधानमन्त्रीबाट केही समयअघि संसदमा देखाएको राष्ट्रवादको अठोट लज्जाले निहुरिएको छ । हामी यता भारतसँग सीमानाका बन्द गर्ने र तार–बारको कुरा गरिरहेका छौँ, उता हजारौँको सङ्ख्यामा परदेशिँदै गरेका नेपाली नागरिक हातमुख जोड्नका लागि भारत जान बाध्य छन् ।

यता हामी काठमाडौंमा बसेर राष्ट्रियताको गीत गाइरहेका छौँ । यो सरकारको प्रमुख उपलब्धि नयाँ नक्सा भनेर प्रधानमन्त्रीलगायत सरकारमा रहेका अधिकारीहरू भनिरहेका छन् । भारतसँग कुनै पनि अवस्थामा शिर झुकाउन हुँदैन भनेर माइतीघरतिर जुलुसहरू प्रदर्शन भए । छिमेकी मुलुकबाट शुरु भएको ‘मिडिया वार’मा भिड्नभन्दा त्यति निम्न स्तरमा झर्ने अवस्था नआओस् भनेर हामीले बन्द गरिदिएका टेलिभिजन च्यानलहरू केही समयपछि खुलेका छन् । राष्ट्रवाद र आत्मसम्मानका अक्षरहरूले हामीले मिडिया र सोसियल मिडिया भऱ्यौँ । राष्ट्रियता र स्वभिमानसँग जोडिएको विषयमा स्वभाविकै रूपले आगामी दिनमा पनि भरिरहने छौँ ।

भारतसँग झुक्न हुँदैन भन्ने राज्यको अठोटलाई नेपाली जनताले गलत भनेका छैनन् । भारतसँग मात्रै होइन कुनै पनि मुलुकसँग किन झुक्ने ? तर नझुक्न र शिर ठाडो गर्नका लागि आफ्नो हात माथि हुनुपर्ने रहेछ । गरिवीले स्वाभिमानको धज्जी उडाउने हुँदा आफ्ना नागरिकलाई आफ्नै देशमा गरी खाने अवस्थाको सिर्जना गर्नुपर्ने रहेछ । सुदूरपश्चिममा देखिएको कारुणिक दृष्यले हाम्रा प्रधानमन्त्रीबाट केही समयअघि संसदमा देखाएको राष्ट्रवादको अठोट लज्जाले निहुरिएको छ । हामी यता भारतसँग सीमा नाका बन्द गर्ने र तार–बारको कुरा गरिरहेका छौँ, उता हजारौँको सङ्ख्यामा परदेशिँदै गरेका नेपाली नागरिक हातमुख जोड्नका लागि भारत जान बाध्य छन् ।

अप्ठ्यारो अवस्थामा परेका नागरिकका लागि के गर्न सकिन्छ भनेर राज्य संरचनामा बस्नेहरूले कुनै खाका बनाएको देखिँदैन । उनीहरु त आफ्नै पार्टीभित्रका गुट, उपगुटभित्र रमाइरहेका छन् । जनतालाई कसरी बचाउने भन्दा बढि सरकार कसरी टिकाउने भन्नेमा समय बितिरहेको छ । कति नागरिक यो महामारीका कारण हातमुख जोड्नै नसक्ने अवस्थामा छन् भन्ने तथ्याङ्कसमेत छैन ।

भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ भनेर वर्षौंदेखि भन्दै–सुन्दै आए पनि रोटीको सम्बन्ध कतिसम्म रहेछ भन्ने कुराको जानकारी भने यसपटक भएको छ । यस्तो महामारीका बीच ज्यान माया मारेर आफ्ना नागरिक रोटीको खोजीमा सीमा काट्दै गर्दा राज्यले उनीहरूलाई रोक्न सकेको छैन । जनता अहिले अप्ठ्यारो अवस्थामा छन् । भूगोल, जनता र संविधान या विधि–विधान मिलेर राष्ट्र बनेको हुन्छ । अप्ठ्यारो अवस्थामा परेका नागरिकका लागि के गर्न सकिन्छ भनेर राज्य संरचनामा बस्नेहरूले कुनै खाका बनाएको देखिँदैन । उनीहरू त आफ्नै पार्टीभित्रका गुट–उपगुटभित्र रमाइरहेका छन् । जनतालाई कसरी बचाउने भन्दा बढि सरकार कसरी टिकाउने भन्नेमा समय बितिरहेको छ । कति नागरिक यो महामारीका कारण हातमुख जोड्नै नसक्ने अवस्थामा छन् भन्ने तथ्याङ्कसमेत छैन ।

यस्तो दुःखद परिस्थितिमा केन्द्रबाटै सबै काम गर्नुपर्ने पनि होइन । स्थानीय संरचना बनिसकेको अवस्थामा स्थानीय तहमार्फत नै कति कामहरू गर्न सकिन्थ्यो, सकिन्छ । परिचालन गर्नका लागि राज्यका परियोजना या कार्यक्रम नभएका होइनन्, राष्ट्रपति उत्थान, प्रधानमन्त्री रोजगार, कृषि रोजगार, युवा स्वरोजगारलगायतका नाम गरेका कार्यक्रमहरू राज्यले घोषाणा मात्र गरेको छैन तिनका लागि बजेट पनि छुट्याएको छ । ती कार्यक्रमअन्तर्गत कति युवाहरूलाई स्वरोजगारका लागि अग्रसर गर्न सकिन्थ्यो । महिलाहरूलाई काम दिन सकिन्थ्यो । समग्रमा बेरोजगारलाई रोजगार सिर्जना गर्न सकिन्थ्यो, सकिन्छ । तर अप्ठ्यारो अवस्थामा राज्यले घोषणा गरी बजेट छुट्याएका ती कार्यक्रमहरू काम लागेनन् । परिणामतः छाक टार्नका लागि नागरिकले माहामारीग्रस्त देशमा फर्किनु पऱ्यो । यस्तो देश जहाँ आफ्ना प्रधानमन्त्री राष्ट्रियताको लडाइँ लडिरहेका छन् ।

अप्ठ्यारो अवस्थामा राज्यले घोषणा गरी बजेट छुट्याएका ती कार्यक्रमहरू काम लागेनन् । परिणामतः छाक टार्नका लागि नागरिकले माहामारीग्रस्त देशमा फर्किनु पऱ्यो । यस्तो देश, जहाँ आफ्ना प्रधानमन्त्री राष्ट्रियताको लडाइँ लडिरहेका छन् ।

केपी शर्मा ओली सरकारले शुरुदेखि नै उठाउँदै र प्रयोग गर्दै आएका राम्रा दुई वटा शब्द हुन्– समृद्धि र राष्ट्रियता । भाषण र सम्बोधनहरूमा भाषा मात्रै प्रयोग गरेर मुलुकमा समृद्धि आउँदैन रहेछ । समृद्धिका लागि आवश्यक रणनीति बनाएर सही काम गर्नुपर्ने हुन्छ । यस्तै, राष्ट्रवाद र राष्ट्रियता आफ्नो अनुकुलताअनुरुप प्रयोग गर्ने या गर्न मिल्ने शब्द होइनन् । तर हाम्रो देशको सन्दर्भमा आफूलाई अलिकति अप्ठ्यारो पऱ्यो या आफू तल पर्ने अवस्था आयो भने राष्ट्रवादको नारा अगाडि सार्ने गरिएको छ । विगतमा राष्ट्रियता या राष्ट्रवादलाई आफू सत्तामा पुग्ने भऱ्याङका रूपमा प्रयोग गरिन्थ्यो तर अहिले सत्ता टिकाउनका लागि प्रयोग गरिँदैछ ।

बृहत् नेपाली शब्दकोषका अनुसार राष्ट्रवादको अर्थ आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरी मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्ति भावना हो । राष्ट्रवादीको अर्थ राष्ट्रवादको मत मान्ने या राष्ट्रवादसँग सम्बन्ध भएको भन्ने हुन्छ । वास्तवमा राष्ट्रको उन्नतिमा जो लाग्छ उही राष्ट्रवादी हो । देशलाई जसले ध्वस्त हुनबाट बचाउन र विकास तथा समृद्धिमार्फत अगाडि बढाउन चाहन्छ उही देशभक्त र राष्ट्रप्रेमी हो । कुनै मुलुकको विरोध गर्नु र आफ्नो देशप्रतिको दायित्व फरक कुरा हुन् । राष्ट्रवाद गीत गाउने कुरा होइन रहेछ । भोको पेट र नाङ्गो आङका जनतासामु राष्ट्रवादको नारा घन्काउनुको कुनै अर्थ देखिएन । उनीहरूका लागि त एक छाक खाना, एकसरो कपडा, शान्तिपूर्वक बास, स्वस्थ शरीर, पढ्न पाउने शिक्षा, अलिकति गरी खाने ठाउँ र कानूनी शासन नै राष्ट्रियता हो, देशप्रेम र राष्ट्रवाद हो ।

अहिले हाम्रो आत्मसम्मान सुदूरपश्चिमका सीमामा लामबद्ध छ । सर्वसाधारणका लागि राष्ट्रवादको अर्थ खाद्य सामाग्री, सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुरा हुन् । जसले जनतालाई यी आधारभूत कुरा दिलाएर मुलुक अगाडि बढाउन सक्छ उही राष्ट्रवादी नेता हो । मुलुक बनाउने भनेको यी र यस्तै स–साना कुराहरूको सही ब्यवस्थापन हो । नेपाल जस्तो सानो मुलुकलाई समृद्ध बनाउन धेरै ठुला–ठुला काम गर्नु पर्दैन । बाटोघाटो, पुलपुलेसा, ब्याप्त बेरोजगारी घटाउनका लागि ठाउँ–ठाउँमा उद्योग ब्यवसायको स्थापना, कृषि तथा अन्य उत्पादनका लागि मल, खाद्य भण्डार र बजारको ब्यवस्था, बिजुली उत्पादन तथा वितरण, विभिन्न नीति तथा कानूनको पालनालगायतका कुराहरू गरे पुग्छ । दाल तरकारी, नुन–तेलदेखि चामल हुँदै सिमेन्टदेखि कपडासम्म बाहिरबाट आउँछ । आफ्नै देशमा कल–कारखाना र उद्योग ब्यवसायहरू भए बाहिरबाट सामान ल्याउनु नपर्ने मात्रै होइन मुलुकको बेरोजगारी पनि आफै रोजगारीमा परिणत हुनेछ । मुलुक समृद्ध हुनका लागि जग बस्नेछ, हामी आत्मनिर्भर हुनेछौँ । तर कहिले ? घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.